२ जेष्ठ २०८१, बुधबार

 

आत्मकथाको भीडमा एक बागी जीवनी

काठमाडौं । २०५० को दशकमा सुदूर पूर्व काँकडभिट्टास्थित शान्ति फार्मेसीका सञ्चालक देवराज प्रसाईं दुईवटा पत्रिकाको ग्राहक थिएः एउटा स्थानीय पूर्वाञ्चल दैनिक र अर्को कान्तिपुर दैनिक। तिनताका स्कुले विद्यार्थी रहेका फार्मेसी सञ्चालकका छोरा उज्ज्वल प्रसाईं भने फुर्सदमा पसल पुगेर तिनै पत्रिकामा घोरिन्थे।

नर्थ पोइन्ट इङलिस बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्दै गरेको छोरो पत्रिकामा टोलाएको देखेर उनका बाबा देवराज एकैसाथ खुशी र अचम्मित हुन्थे। एक दिन पत्रिकाको सम्पादकीय पृष्ठ पढ्ने कोसिस गरिरहेको छोरोलाई सोधे, ‘कसको के पढिरहेको छस्रु’ प्रदिप गिरिको लेखमा आँखा पुगेपछि बाबाले भने, ‘खगेन्द्र संग्रौलाका लेख पढेको छस्रु’ उनले थपे, ‘यही पत्रिकामा आउँछ नि तिनको लेख। तिनका शब्द त घोडा जस्तै दौडन्छन्।’

घोडाको दौडमा भएको रफ्तार र ऊर्जालाई खगेन्द्रका लेखनको धारिलोपना बुझाउन विम्वका रूपमा प्रयोग गरेका थिए होलान् देवराजले त्यसरी उकेरा लगाएर संग्रौला पढ्न हौस्याएका उनलाई थाहा थिएन, कुनै दिन उनका छोरा उज्ज्वलले तिनै लेखक संग्रौलाको जीवनी लेख्नेछन्। त्यसो त उज्ज्वल राष्ट्रिय दैनिककै स्तम्भकार बन्ने छन् भन्ने पनि देवराजलाई पक्कै कुनै अन्दाज थिएन।

लेखक उज्ज्वल प्रसाईंले पत्रपत्रिका पढ्न थाल्नु अघिदेखि नै लेखक खगेन्द्र संग्रौलाका लेखहरू पत्रपत्रिकामा छापिन्थे। बाबाले औंल्याउनु अघिसम्म संग्रौलाबारे उनले केही थाहा पाएका थिएनन् पहिलोपटक बाबाकै मुखबाट संग्रौलाको प्रशंसा सुनेपछि संग्रौला उनका लागि कौतूहलको विषय बने।

बाबामार्फत चिनारु छिमेकी रंगनाथ संग्रौलाका भाइ भनेर खगेन्द्रलाई चिनेपछि उज्ज्वललाई उनका लेख अझै पढ्न मन लाग्यो। प्रत्यक्ष चिनजान नभए पनि यतै वरपर कहिलेकाहीँ आउने मान्छे रहेछन् भनेर रमाइलो लाग्यो। ‘सधैं देखिरहेको र आउजाउसमेत भएका मान्छेका भाइ हुनुहुन्छ भन्ने थाहा पाएपछि उहाँका लेखहरू पढ्न अझै धेरै रहर बढ्यो’, उनले भने।

संग्रौलाको स्तम्भ ‘बेलाको बोली’ उज्ज्वलका लागि नियमित खुराक बन्यो। किशोर उमेरमा बुझाइका सीमितता थिए होलान्, तर संग्रौलाको भाषाले भने निक्कै तान्यो। ‘सरल र चोटिलोस तिव्र आलोचनासहितका स्पष्टोक्ति ’ उनी भन्छन्, ‘उहाँको भाषामा धेरैतिरको मिश्रण भए पनि पूर्वेली ठेट भाषा बढी आउँथ्यो। भाषाको तीखोपनाले मलाई छोयो। कहिलेकाहीँ मेरै हजुरआमा बोलेजस्तो लाग्ने।’

संग्रौलाको चोटिलो लेख पढेर तुष्टि पाएका दिन उनी आफ्नै बाबासँग लेखबारे कुराकानी गर्थे। एकदिन संग्रौलामाथि पत्रकार देवेन्द्र भट्टराईद्वारा लेखिएको प्रोफाइलले संग्रौलाका अरू किताब पढ्ने जाँगर उमारिदियो।

अक्षर मात्रै नभएर, कोलाज गरेर बनाइएको संग्रौलाको फोटोसमेतले आकर्षित गर्यो उनलाई। ‘उनका घतलाग्दा अनेक किस्सादेखि याक चुरोटको तलतल पनि रमाइलो लाग्यो’, लेख पढ्दाका दिन सम्झिए उनले।

किशोर उमेरदेखि नै मन पराएको लेखकसँग भेट्ने र बात मार्ने सपना देख्न थालेका थिए उनले। संग्रौलाका लेखनी र अखबारमा देखिने उनको फोटोका आधारमा आफ्ना प्रिय लेखकको एउटा खास चित्र कोरेका थिए उनले दिमागमा।

संग्रौलाको ‘आमा र यमदूतहरु’ नामक पुस्तक प्रकाशित भएको केही समयपछि उनले पढ्ने अवसर पाए। हिन्दू काजक्रिया गर्ने तेह्र दिने चलनविरुद्ध संग्रौला आफैंले गरेको विद्रोहको नालीबेली थियो किताबमा। विस्तारै उनले ‘घोडा इश्वर र मेरा बा’जस्ता निबन्ध संग्रह पनि हात पारेर पढे। संग्रौलाले अमिट छाप पारे।

एसएलसी दिएपछि विज्ञान विषय लिएर प्लस टु पढ्न थालेका उज्ज्वलले साहित्यकै विद्यार्थी बन्न मेजर अंग्रेजी लिएर मानविकी पढे। अंग्रेजी साहित्य र समाजशास्त्रको औपचारिक पढाइले उनलाई थप जिज्ञासु र पढन्ते बनायो।

पढाइसँगै झापाकै रेडियो कञ्चनजंघा एफएममा काम गरे। चार वर्षे रेडियो अभ्यासले उनलाई बोल्ने र लेख्ने सिप दियो भने पत्रकारिताका आधारभूत तालिम पनि त्यहीँ पाए। साथै, रेडियोको जागिरले उनलाई नयाँ किताब खोजेर पढ्ने जाँगर बढाइदियो।

उच्च शिक्षाको सिलसिलामा काठमाडौं आए उज्ज्वल। उज्यालो नाइन्टी नेटवर्कमा रेडियोकर्मीकै रूपमा काम गरे। रेडियोको काम हापेर पढाइमा लागेका उनले २००९ मा फेरि पत्रकारिता थाले, द काठमाडौं पोष्ट अंग्रेजी दैनिकमा।

आफूले लेख्ने स्तम्भका लागि उनले लेखक र बौद्धिकसँग वार्ता गर्नुपर्थ्यो। यसरी मेसो जुरेपछि उनले आफ्ना प्रिय लेखक छुटाउने सवालै भएन। केही प्रश्नहरू बनाएर मिल्ने साथी शैलेश दाहाललाई साथ लिएर उनी चावहिलस्थित संग्रौला निवास पुगे।

उनले सोचेको लेखक र भेटेको लेखकबीच एउटा अन्तर स्पष्ट देखे। संग्रौला नारायण वाग्ले जतिकै नभए पनि केही अग्ला कदका होलान् भन्ने लाग्थ्यो उनलाई। तर, दिमागमा कोरेको चित्रभन्दा एक फिट बढी नै साना रहेछन् बूढा भनेर मनमनै हाँसे।

संग्रौलासँगको सुरुवाती संवादबारे उज्ज्वल भन्छन्, ‘स्तम्भका लागि सोधिने सीमित प्रश्न सोधिहालें। पहिलेदेखि पढ्दै आएका लेख र किताबबारे जिज्ञासा राखें। धैर्यतापूर्वक दाइले उत्तर दिनुभयो।’

‘खगेन्द्र संग्रौला आज आउनु भएन। उहाँ आइदिएको भए अझ कार्यक्रम राम्रो हुन्छ उहाँ मिठो बोल्नु हुन्थ्यो’, पारिजातले एक अखबारी टिप्पणीमा लेखेको यस्तो एक वाक्य सम्झिँदै उज्ज्वल भन्छन्, ‘सोधेको प्रश्नको ट्वाक्क जवाफ दिने। चिटिक्क मिलाएर बोल्ने खगेन्दाइको शैली लोभलाग्दो छ। सबैले यसरी भाका मिलाएर चिटिक्क बोल्न सक्दैनन्।’

त्यसपछि भेटौं लागिरहे पनि खास मेसो जुरेको थिएन, केही पछि हेटौंडा निवासी लेखक युग पाठकसँग उनको संगत भयो। अन्तर्वार्ताकै क्रममा भेटेपछि चिया अड्डाहरूमा साहित्य र समसामयिक विषयसहित गफिन थाले युग र उज्ज्वल।

युगले बाइकमा राखेर संग्रौलासँग भेटघाटका लागि चाबाहिल लैजान थाले उनलाई। भेटघाट बाक्लियो, संगत झाँगियो। भन्छन्, ‘खगेन्दाइसँग मित्रता भएका मभन्दा उमेरले केही जेठा तर तन्नेरीहरुको फराकिलो वृत्तमा म पनि मिसिएँ। खासगरी २०६२र६३ ताका नागरिक आन्दोलनमा सहभागी तन्नेरीहरूको समूह थियो त्यो।’

संग्रौलाले संस्मरणहरू काफी लेखेका छन्। बाल्यकालका पदचापहरू, आफ्नै आँखाको लयमा, सम्झनाका कुइनेटाहरू, घोडा इश्वर र मेरा बा लगायतका निबन्ध संग्रह छन्। साथै अखबारी लेखनमार्फत फुटकर निबन्धहरू पनि काफी प्रकाशित भइसकेका छन्।

आफैंले भोगेका निजी जिन्दगीलाई शब्दमा भर्न माहिर छन् संग्रौला। झर्रो शब्द र सरल शैलीले उनका लेखन आम पाठकका लागि पनि प्रिय बनेको छ। आफ्ना जीवनका अनेक आयामहरूलाई संग्रौलाले मिहिन केलाइसकेका छन्। आफूलाई लेखेरै चिनाइसकेका संग्रौलाको जीवनी लेख्नुपर्ने अझै केही बाँकी होला जस्तो लाग्दैन।

अखबारी लेखनमा प्रख्यात नाम खगेन्द्र संग्रौलाका डेढ दर्जन पुस्तक प्रकाशित छन्। उनी लेखक मात्रै नभएर एक राजनीतिक अभियन्ता पनि हुन्। आफ्ना बारेमा मात्रै नभएर समसामयिक राजनीति र समाजका बारेमा अन्तर्वार्ताहरूमा पनि प्रशस्तै बोलेका छन्।

त्यसैले संग्रौलाको जीवनी लेखिनुपर्छ भन्ने उज्ज्वललाई पनि लागेको थिएन। उनी भन्छन्, ‘खगेन्दाइको जीवनी लेखिनुपर्छ भन्ने मलाई लागेको थिएन, बरू उहाँका रचनाहरूको संयोजन मूल्यांकनसहितको सुरुचिपूर्ण समालोचना लेखिनुपर्छ भन्ने लाग्थ्यो।’

संयोगले संग्रौलाका साथी दीपक भेटवालले संग्रौला निकटकै साथीहरू माझ संग्रौलामाथि केही लेख्न हौसिए। भेटवाल कतारमा बसेर व्यवसाय गर्छन्। उतै नेपाली संघसंस्था मिलेर साहित्यिक गतिविधि गर्दै आएका पनि थिए।

एकाधपटक संग्रौलालगायतका चर्चित कवि लेखकलाई कतार बोलाएर कार्यक्रम पनि गरेका रहेछन्। उनै भेटवालले लेखनको आर्थिक स्रोत जुटाइदिने भएपछि संग्रौलासम्बन्धी केही सिर्जनात्मक काम हुनुपर्छ भन्ने मेसो मिल्यो। त्यस्तो काम के हुनसक्छ ? धेरैले सुझाए, जीवनी।

जीवनी नै किन ? संग्रौलाको मित्रमण्डलीमा भएको छलफलको निश्कर्ष थियो, ‘आफैंले आफ्नैबारे लेख्नु र अरूले नै लेख्नुमा धेरै फरक हुन्छ। त्यही जीवनीमार्फत कृतिहरुको राम्रो परख र मूल्यांकन पनि हुनसक्छ।’ सो कामका लागि साथीहरुले उज्ज्वलको नाम सुझाए।

‘सुरूमा त मलाई दकस लागेको थियो र जीवनी लेख्ने कुनै अभ्यास पनि थिएन। कसैको जीवनी लेखिएला भन्ने सोचेर प्रचलित जीवनी पुस्तक पढिएको पनि थिएन’, उनले ती दिन सम्झिए। साहित्यमा अभिरूची हुनेले कनिकुथी लेख्न रहर गरिहाल्छन्। अझ अंग्रेजी साहित्य पढेका र अखबारी लेखनमा रत्तिएका उज्ज्वल कथा, उपन्यास या निबन्ध संग्रह नै लेख्ने सुरमा थिए। तर कसैको जीवनी लेखौंला भन्ने कहिल्यै कल्पिएका थिएनन् उनले।

‘लेखक बन्ने, किताब लेख्ने धोको थियो तर जीवनी नै मेरो पहिलो मौलिक कृति होला भन्ने पटक्कै लागेको थिएन,’ अब भने उनको पहिलो किताब नै ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ हुन पुग्यो।

काम सुरु गर्दा उनलाई जीवनी लेखाइ यति लम्बिएला र यति अप्ठ्यारो होला भन्ने लागेको थिएन। संग्रौलाका प्रायः लेखनी सबै पढेका आधारमा र उनलाई नजिकबाट चिनेका आधारमा उनलाई काम सजिलै बन्छ जस्तो लागेको थियो। काम गर्दै जाँदा बुझे, आवश्यक सामाग्री बटुल्नै हम्मे पर्ने रहेछ।

यही सिलसिलामा संग्रौलाको जन्मथलो पाँचथरको सुभाङ पुगे उनी। संग्रौलाभन्दा अघिल्ला पुस्ताका एकदुई बाहेक धेरैलाई भेट्न पाएनन्। तर समकालिन तथा केही वर्ष कान्छा र उनले पढाएका विद्यार्थीहरूसँग संग्रौला बारेमा कुराकानी गरे उज्ज्वलले।

‘ठूलो मान्छे बन्छ जस्तो लाग्थ्यो भने धेरैले। कतिपयले त मन्त्री हुन्छ जस्तो लागेको थियो पनि भने। अहिले नाम चलेको मान्छे भएर पनि होला ती मान्छेहरूले त्यसो भनेका’, बाल्यकालमा खगेन्द्रलाई चिन्नेले सुनाएका कुरा जस्ताका त्यस्तै सुनाए उनले।

संग्रौलालाई खोज्दै पाँचथर मात्रै पुगेनन्, लमजुङको खुदी, बन्दीपुर र चितवनसम्मका घटनाक्रमलाई अक्षरका मालामा उनेका छन् उज्ज्वलले किताबमा। किताबको समीक्षा गर्ने डा। सबिन निङ्लेखुले ती साना ठाउँका कथा ‘माइक्रो हिष्ट्रिका रूपमा किताबमा वर्णन गरिएको र ती असाध्यै महत्वपूर्ण भएको’ बताएका थिए।

संग्रौलाको प्रेम प्रसंगदेखि उनले गाउँका मान्छेलाई क्रान्तिमा होमिन प्रेरित गर्न गरेका प्रयत्नका रोचक सिलसिला पुस्तकमा वर्णन गरेका छन्। त्यसै क्रममा खगेन्द्रले रचेका कथा र निबन्ध सन्दर्भित गर्दै विभिन्न ठाउँका सामाजिक र राजनीतिक इतिहास पनि खोतलेका छन्।

जीवनी लेख्ने उपक्रम सुरु हुनुभन्दा पहिलेदेखि नै उज्ज्वल खगेन्द्रका नजिकका साथी भइसकेका थिए। उनीहरुबीच बरोबर भेट भइरहने र भेटमा पुस्तक, राजनीति, समाज, संस्कृति विषयमै घन्टौं गफगाफ चल्थ्यो।

त्यसो त उनीहरुको साहचर्य चियाको ग्लासदेखि मदिराका प्यालासम्म पनि चल्ने गरेकै थियो। मदिरा पिएकोमा खगेन्द्रलाई अनर्गल टिप्पणी गर्नेहरु थुप्रै छन्, सामाजिक सञ्जालमा। नजिकबाट नियालेका उनका जीवनीकार उज्ज्वलको अनुभव भने बेग्लै छ,‘कतिपय मान्छे रक्सी पिएपछि उग्र हुन्छन्, के के लफडा गरिबस्छन्। अनुशासित ढंगले उचो स्वरमा नबोलिकन,साबिकमा जसरी बोल्ने गर्नुहुन्छ, त्यसैगरी प्रस्तुत हुने बानी मजाको लाग्छ खगेन्दाइको।’

कुनै कुनै किताबका पानामा अक्षर पनि खँदिला हुन्छन्। गुदी लागेका किताबको पाना जति थपिए पनि किताब प्रिय हुन्छ। यस्तै किताब बनाउन कुनै कसर नछोडेका उज्ज्वलले एक बागीलाई धामधाम लेखेननन्। बरू, लामो–लामो ग्यापमा लेख्ने गर्थे।

लेखनका क्रममा जब लामो लामो ग्याप हुन्थ्यो, किताब लेखिन्न कि, छापिन्न कि भन्ने भयको हुरी चल्थ्यो उनको मनमा। यसैले सात वर्ष लगाए, एक बागीलाई बजारमा ल्याउन। धमाधम लेखेका भए ३र४ वर्षजति काम गर्दा पुग्थ्यो जस्तो लाग्छ उनलाई।

‘अन्तर्वार्ता गरेर फर्केका बेला, वा बेस्सरी पढेर नयाँ कोण बनाएका बेला जोसिन्थें। धमाधम लेख्थें, केही साता। जब रोकिन्थ्यो, फेरि महिनौ लेख्थिनँ, केके उल्झनमा फस्थें’, उनले लेखन अनुभव सुनाए। जीवनी लेख्न अपनाएको मुख्य तरिकाबारे उनले व्याख्या गरे, ‘उहाँका समग्र लेखनीमा ज्यादा केन्द्रित भएँ।

किताब, कथाहरु, निबन्ध, संस्मरण, र उहाँ संलग्न अभियानबारे सामाग्री खोजेर पढें। ती सामग्री प्रकाशित भएका बेला, अरु कसकसका केके छापिन्थे भनेर पनि हेरें। त्यसबेलाका राजनीतिक र सामाजिक परिस्थिति के थियो भन्ने बुझ्न आवश्यक सामाग्री खोज्ने र पढ्ने गरें। त्यसरी मूलतः टेक्स्टमा केन्द्रित भएर आफूले जानेका टुल प्रयोग गर्दै शोध गरें।’

संग्रौलाले गरेका कतिपय दावीका पीक्षण गर्न उनले सान्दर्भिक पत्रिका, दस्तावेज, र साहित्य खोजेर हिँडे। अन्य कतिपयले संग्रौलाबारे लेखेका टिप्पणी, लगाएका आरोप र गरेका आलोचनाका आधार खोजे। प्रगतिशील लेखक संघ जस्ता संस्था, माओवादी जस्ता पार्टी र मधेस आन्दोलन जस्ता अभियानमा उनका संलग्नता र सम्बन्धका तरेली केलाउन पनि उनले दैनिक अखबार, म्यागेजिन, र किताबका अर्काइभ उधिने। र, कतिपय अवस्थामा सम्बन्धित मानिसहरुसँग कुराकानी गरेः कहिले लिखित र कहिले मौखिक।

उनी भन्छन्, ‘खगेन्दाइ आफू दलाबद्ध नभएको दावी गर्नुहुन्छ। तर पार्टीको संस्थापक नेता त हुनुभयो। पछि निष्क्रिय हुनु भए पनि उहाँ दलाबद्ध कहिल्यै हुनुभएन भन्न मिल्दैन। तथ्यले त्यस्तो दावी गर्न दिँदैन।’ यसका लागि उनले संग्रौला आबद्ध भएको दलबारे अरुले लेखेका किताब र आवश्यक पार्टी–दस्ताबेज खोजेर पढे। यस्ता धेरै विषय उनले जाँचेर बुझेर मात्रै किताबमा उल्लेख गरेका छन्।

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनहरु, कम्युनिष्ट आन्दोलनहरु र अन्य सामाजिक आन्दोलनहरुमा कहिले मझधारमा र कहिले किनारामा उभिए खगेन्द्र संग्रौला। ती उभ्याइका कारण र प्रभाव किताबमा खोतलेका छन्, उज्ज्वलले। त्यसैले यो संग्रौलाले भनेको र उनले उतारेको कथा होइन। बरु, उनले खगेन्द्रको जीवन र लेखनीलाई आधार बनाएर भनेको नेपाली समाजको कथा हो।

उज्ज्वल भन्छन्, ‘यो खगेन्दाइको किताब होइन, बरु खगेन्द्र संग्रौला यस किताबका विषय हुन्’। किताब पढिसकेर बिमोचनमा बोल्न निम्त्याइएका विद्वानहरु महेश मास्के र उषा श्रेष्ठका बुझाइमा पनि ‘एक बागी’मा उज्ज्वलले खगेन्द्र संग्रौलालाई माध्यम बनाएर नेपाली समाजले छिचोलेका विभिन्न घुम्तीका कथा भनेका छन्।

नेपाल समयबाट

प्रतिक्रिया दिनुहोस्