२२ बैशाख २०८१, शनिबार

 

शिक्षासेवी श्रेष्ठद्वारा विद्यामन्दिर माविलाई प्रोजेक्टर र ल्यापटप सहयोग

बागलुङका व्यवसायी तथा शिक्षासेवी सिद्धार्थ मिलन श्रेष्ठले विद्यालय विद्यामन्दिर माध्यमिकलाई प्रोजेक्टर र ल्यापटप सहयोग गर्नु भएको छ । विद्यालयले संचालन गरेको त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्न आयोजित आभिभावक भेलाको अवसरमा विद्यालयको शैक्षिक सुधारका लागि भन्दै श्रेष्ठले करिव २ लाख मुल्य बरावरको प्रोजेक्टर र ल्यापटप सहयोग गर्नु भएको हो ।

यस अघि श्रेष्ठ परिवारले विद्यालयका पूर्वशिक्षक समेत रहनु भएका आफ्ना बुवा सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा १६ लाख ६५हजार ५सय ५५ रुपैया सहयोगमा मिलन गुरु स्मृति विज्ञान प्रयोगशाला निर्माण गर्नु भएको थियो । त्यस्तै श्रेष्ठले गत कार्तिक २७ गते विद्यालयको लागि ६० थान प्लास्टिकको कुर्ची हस्तान्तरण गर्नु भएको थियो।

विद्यार्थीमा सिकाई उपलब्धी हासिल गर्न सघाउने उदेश्यले प्रोजेक्टर र ल्यापटप सहयोग गरेको सहयोगदाता सिद्धार्थ मिलन श्रेष्ठले बताउनु भयो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोक्टरमार्फ शैक्षिक सामाग्री पदर्शनबाटै पढाउन सजिलो होस भन्ने उद्देश्यले पनि सहयोग गरेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा सम्पनन कार्यक्रममा समितिका सदस्य मुकेशचन्द्र राजभण्डारी, विद्यालयका सहायक प्रधानाध्यापक छवि रमण रेग्मी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा कक्षा ४ देखी ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भैरहेको कक्षामा विद्यालयले संचालन गरेको त्रैमासिक परीक्षामा प्रथम, द्वितिय र तृतिय हुने तथा विद्यालयले संचालन गरेका अतिरित्त क्रियाकलापमा उत्कृट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो कार्यक्रमको संचालन शिक्षक राधा मलेपतिले गर्नु भएको थियो ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर जिल्लाका केही विद्यालय बन्द हुने अवस्थामा पुगेको समयमा बागलुङको सबै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गरेको छ। बागलुङको शैक्षिक धरोहको रुपमा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले चालु शैशिक्षक सत्रबाट पहिलो चरणमा कक्षा ४ देखी ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गरेको हो ।

अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि विद्यामन्दिर माविले पनि विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको थियो । विसं१९९७ मा राणाशासनको समयमा ओमप्रसाद गौचन, मेघकुमार वैद्यले स्थापना गरेको विद्यामन्दिर साविक नेपालमा खुलेको विद्यालय मध्य इतिहास बोकेको पुरानो विद्यालय हो ।

आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको र शैक्षिकस्तर सिकाइमूलक बनाउन तल्लो कक्षादेखि नै सुधारका काम थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताउनु भयो । विद्यालयको शैक्षिक सुधारका लागि स्वयं विद्यालयको पहिलो अग्रसरता, अभिभावक , शिक्षक र विद्यार्थीको त्रिकोणात्मक संबन्धले मात्र सम्भव हुने शाक्यले बताउनु भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्