५ जेष्ठ २०८१, शनिबार

 

के हो ‘स्टिम’ एजुकेसन ? कसले पढ्ने ?

१९६० को दशकमा अमेरिकाबाट शुरु भएको हो, ‘स्टिम’ शिक्षा । यो शिक्षामा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स समावेश गरिएको थियो, जसलाई स्टेम भनिन्थ्यो ।

२००६ मा भएको मोमेन्टले आर्ट्स विषय अत्यावश्यक रहेको निष्कर्ष निकालेपछि साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सलाई जोड्न आर्ट्स थप गरिएको हो । त्यसपछि ‘स्टिम’ एजुकेसनमा रूपान्तरण भएको हो । इन्टरनेटको विकास र आईसीटीे प्रयोगसँगै स्टिम एजुकेसनको अवधारणा आएको हो ।

इन्टरनेटको विकाससँगै हिसाब गर्ने तरिका र साइन्सको प्रिजेन्टेसन गर्ने शैलीमा परिवर्तन आयो । पढाउनका लागि कला महत्त्वपूर्ण हुन्छ । त्यसैले स्टिम शिक्षामा आर्ट्सलाई समावेश गरिएको हो ।

नेपालमा स्टिम शिक्षा

स्टिम शिक्षाको इतिहास लामो छैन । नेपालमा अघिल्लो वर्षदेखि मात्र यो शिक्षाको अध्ययन अध्यापन सुरु गरिएको हो । यो साउथ एसियाकै पहिलो हो । काठमाडौं विश्वविद्यालयले गतवर्षदेखि यो कोर्स सञ्चालन गरेको हो ।

छोटो समयमा पनि स्टिम एजुकेसनप्रति धेरैले चासो राखेका छन् । पहिलो ब्याचमा नौ जनाबाट सुरु गरिएको यो कोर्समा दोस्रो ब्याचमा २० जनालाई विश्वविद्यालयले पढाउने भएको छ ।

कस्तो कोर्स हो ?

काठमाडौं विश्वविद्यालयले एमफिल लेबलमा सुरु गरेको डेढवर्षे कोर्स हो स्टिम एजुकेसन । यसमा तीनवटा सेमेस्टर हुन्छन् । ४० प्रतिशत थ्यौरी र ६० प्रतिशत प्राक्टिकल रहेको यो कोर्समा बढीमा २० जनाको मात्र कोटा छ । विद्यार्थीले डेढ वर्षमा आठवटा कोर्स र एउटा थेसिस गर्नुपर्छ । एमफिलपछि स्टिममै पीएचडीसमेत गर्न सकिन्छ । हङकङ थाइल्यान्डमा समेत गएर स्टिममा पीएचडी गर्न सकिन्छ ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

मास्टर्स लेबलमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स पढेका विद्यार्थीले यो कोर्स पढ्न पाउँछन् ।

कस्तो रुचि भएकाले पढ्ने ?

जो विद्यार्थी शिक्षकबाट ट्रेनर बन्न, अनुसन्धान गर्न, पाठ्यक्रम बनाउन, विश्वविद्यालयमा पढाउन, स्टिम विद्यालय खोल्न रुचि राख्छन्, त्यस्ता विद्यार्थीले यो कोर्स पढ्दा उपयुक्त हुन्छ ।

खर्च कति लाग्छ ?

यो कोर्स पूरा गर्न ३ लाख रुपैयाँ लाग्छ । यदि पढ्न रुचि भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि विश्वविद्यालय अनुदान आयोग ९यूजीसी०ले छात्रवृत्ति दिने गरेको छ ।

दैनिक जीवनसँग जोड्न स्टिम

बालचन्द्र लुइँटेल

प्रोफेसर, काठमाडौं विश्वविद्यालय

साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स पहिले अलग–अलग पढाइ हुन्थ्यो । एकआपसमा यी विषयको सम्बन्ध नबुझी पढ्ने र पढाउने गरियो ।

कहाँबाट गणित सुरु हुन्छ ? कहाबाट टेक्नोलोजी सुरु हुन्छ ? कहाँबाट विज्ञान सुरु हुन्छ ? यसको सुरु र अन्त्य थाहै नपाई पढाउने गरियो । यी महत्त्वपूर्ण विषय सिकाउने विधि पनि थिएन, जसका कारण रिजल्ट राम्रो निस्कन सकेन ।

विद्यार्थीका लागि सिकाउन कला महत्त्वपूर्ण हुन्छ । कुनै पनि कुरालाई कसरी अभिव्यक्त गर्ने ? कसरी कनेक्ट गर्ने ? कसरी क्रिएट गर्ने ? भन्ने आर्ट हो । यही अवधारणामा आर्ट्सलाई पनि समावेश गरेर स्टिम एजुकेसनको विकास गरिएको हो ।

गणित, विज्ञान, टेक्नोलोजीजस्ता विषय सुगा रटाइ र धर्मशास्त्र पढाएजसरी पढाइन्छ, अनि कसरी हुन्छ गुणस्तरीय शिक्षा ? पाठ कण्ठ गराएर कहिलेसम्म विद्यार्थीलाई पढाउने ? यो अवधारणाको विकल्पमा आएको हो स्टिम एजुकेसन ।

साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ घोकाउने विषय होइन । स्टिम एजुकेसनले विद्यार्थीलाई घोकाउने विधि सिकाउँदैन । अनुसन्धानमा आधारित मानिसको दैनिक जीवनसँग जोडिएको विषय सिकाउँछ ।

अहिले यो कोर्स एमफिलमा सुरु गरिएको छ । साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ पढेकालाई सिकाउने विधिबारे छलफल गर्ने र अनुसन्धान गर्न विश्वविद्यालयले स्टिम एजुकेसन सुरु गरेको हो ।स्टिममा एमफिल गरेपछि माध्यमिक तहमा पढाउन, ट्रेनर भएर काम गर्न, पाठ्यक्रम बनाउनका लागि आवश्यक पर्ने जनशक्ति तयार पार्न विश्वविद्यालयले यो कोर्स ल्याएको हो ।

माध्यमिक तहदेखि नै स्टिम शिक्षा आवश्यक छ । विद्यालय शिक्षा भनेको समस्याको समाधान गर्न सक्ने नागरिक तयार पार्ने हो । तर, अहिले विद्यालय शिक्षाले फ्रस्टेड नागरिक तयार पारेको छ ।

विद्यार्थीलाई चासो नभएको विषय पढाइएको छ । कतिपयमा गणित विज्ञान पढेर कामै छैन भन्ने धारणा छ । पढाउने विधि नभएकाले हो विद्यार्थी फ्रस्टेड भएका । यी सबै समस्याको समाधान गर्न विद्यालय तहमै स्टिम एजुकेसन आवश्यक छ । जसले विद्यार्थीलाई स्वउद्यमी बनाउँछ ।

गणित, विज्ञान, टेक्नोलोजीजस्ता विषय सुगा रटाइ र धर्मशास्त्र पढाएजसरी पढाइन्छ, अनि कसरी हुन्छ गुणस्तरीय शिक्षा रु पाठ कण्ठ गराएर कहिलेसम्म विद्यार्थीलाई पढाउने ? यो अवधारणाको विकल्पमा आएको हो स्टिम एजुकेसन त्यसैले नेपाल सरकारले समेत स्टिम शिक्षालाई प्राथमिकतामा राखेको छ । नयाँ शिक्षा नीतिमा समेत ‘स्टेम’ शिक्षा भनेर समावेश गरिएको छ । यो सकारात्मक पक्ष हो ।

अब तीन घन्टाको परीक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन । समृद्ध देश बनाउने हो भने अध्ययन, अनुसन्धानमा जोड दिइनुपर्छ ।ज्ञानको नवीकरण अहिलेको आवश्यकता हो । ज्ञानशास्त्रजस्तो होइन । शास्त्र परिवर्तन हुँदैन । ज्ञान विज्ञान परिवर्तनशील छ । त्यसैले केही प्राइभेट विद्यालयले स्टिम शिक्षासमेत सुरु गरेका छन् ।

जबसम्म सरकारी विद्यालयमा स्टिम शिक्षा सुरु हुँदैन, तबसम्म शिक्षामा प्रगति हुन सक्दैन । विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउने, पाठ कण्ठ गराउने, नोट लेखाउने परम्पराको अन्त्य हुनुपर्छ । विद्यार्थीलाई समूहमा छलफल गराउने, एकअर्कामा कुरा सेयर गर्न लगाउने र अन्वेषणमा प्रेरित गर्नुपर्छ । अनि मात्र शिक्षाको गुणस्तर र समृद्ध मुलुक बन्छ ।

सिलापत्रबाट

प्रतिक्रिया दिनुहोस्