७ जेष्ठ २०८१, सोमबार

 

शिव शिखर सहकारीका बचतकर्ताले प्रबन्धकलाई सोध्छन् – हाम्रो पैसा कहिले पाइन्छ ?

बागलुङ ।  शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाको बागलुङ शाखामा बचत फिर्तामा समस्या देखिएको छ । सहकारीमा समस्या देखिएपछि कारोवार बन्द गरेको २ सातासम्म पनि कार्यालय सुचारु हुन सकेको छैन ।

बचत फिर्ता गर्न नसकेपछि सूचना टाँसेर सहकारी बन्द

बचतकर्ताको व्याज र बचत रकम फिर्ता दिन नसकेपछि सहकारीले पुँजी व्यवस्थापनको कारण देखाउँदै फागुन २ गतेबाट सूचना टाँसी बन्द छ ।आर्थिक मन्दीका कारण सबै बचतकर्ताहरू एकै पटक चल्ती खाता, मुद्दती खाता र शेयरको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेको भन्दै बागलुङबाट आर्थिक कारोबार बन्द गरिएको शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशील बानियाँले हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।

सहकारीले आफूहरू संस्थाको मर्जर प्रक्रियामा रहेको उल्लेख गरेको छ। समस्याग्रस्त भएको सहकारीले हालको आर्थिक मन्दीको कारण सबै बचतकर्ताहरु एकै पटक चल्ती खाता, मुद्धति र शेयर रकम झिक्न आउदा पुँजी व्यवस्थापन हुन नसकेको कारण देखाउदै फागुन २ गते सूचना प्रकाशित गरी केही दिनको लागि भन्दै सहकारीको कार्यालय बन्द गरेको थियो ।

तर सहकारी कहिले संचालन हुन्दछ र कारोबार कहिलेदेखि सुचारु हुन्छ भन्ने कुरा बचतकर्ताहरुलाई सहकारीले अहिलेसम्म थाहा दिएको छैन् ।बागलुङ बजारबाट करोडौं रकम संकलन गरेर केन्द्रीय कार्यालय भक्तपुरमा लगेको र सो रकम तत्काल फिर्ता दिने हैसियतमा सहकारी नभएकोले सहकारीको कार्यालय सूचना टाँसि बन्द गरिएको छ भने बचतकर्ताहरु आफनो रकम कसरी पाइन्छ भनि अन्यौलमा परेका छन् ।

प्रत्येक सहकारीले बचत फिर्ता गर्न आफूसँग २० प्रतिशत रकम मौजाद राख्नु पर्छ

बचतकर्ताले आफनो रकम सुरक्षित गर्न विभिन्न निकायहरुमा धाउन थालेका छन् ।सहकारीे ऐन २०७४ अनुसार शेयर सदस्यहरु र बचतकर्ताहरुसँग संकलन गरेको रकममध्ये सहकारीले ८० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ भने बचत फिर्ता गर्नको लागि प्रत्येक सहकारीले २० प्रतिशत तरलताको व्यवस्था गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।

तर लामो समयदेखि बचतकर्ताहरु कार्यालय धाउदा पनि आफूले बचत गरेको रकम फिर्ता पाउन सकेको छैन । सहकारीले सूचना टाँसेर बन्द गरेको कार्यालय कहिलेदेखि संचालनमा आउँछ र आफूले बचत गरेको रकम कहिले पाइन्छ भनि चिन्तित र सशंकित बनेका छन्।बढि व्याजको लोभले धेरै बचतकर्ताहरुले विभिन्न बैंक र स्थानीय सहकारीहरुबाट पैसा झिकेर शिव शिखर बहुउद्देश्यीय सहकारीमा चल्ती र मुद्दती खातामा जम्मा गरेका थिए ।

जिवन भरको कमाई सहकारीलाई

सहकारीले बागलुङमा विभिन्न किसिमका बचत खाता मार्फत कारोबार गर्नुका साथै गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर संचालन गरिरहेको छ । बागलुङमा संचालित अरु सहकारीहरुले भन्दा धेरै व्याज दिएको भन्दै बचतकर्ताहरुले धेरै रकम बजार प्रतिनिधिमार्फत यस सहकारीमा बचत गरेका थिए ।

उद्योगी, व्यवसायी, किसान, शिक्षक, कर्मचारीहरुले आफनो जिवन भरको कमाइ यसै सहकारीको मुद्दति खातामा जम्म्मा गरेको पीडित बचतकर्ताहरुले नाम नबताउनु शर्तमा जानकारी दिनु भयो ।धेरै गृहनीहरुले वैदेशिक रोजगारमा गएका आफनो श्रीमानहरुले पठाएको पैसा पनि यसै सहकारीमा बचत गरेका छन् ।अमेरिका, जापान, युरोप, दुबइर्, कतार, साउदी र दक्षिण कोरियालगाएत देशहरुबाट युवाहरुले पठाएको रेमिट्यान्सको ठुलो रकम यस सहकारीमा परिवारहरुले मुद्दती खातामा जम्मा गरेका छन् ।

मुद्दतीमा राखेको रकमको समय सिमा सकिदा बचत फिर्ता पाएनन् पीडितले

सहकारीले बचतकर्ताको मुद्धतीमा राखेको रकमको समय सिमा सकिदा पनि बचत फिर्ता गर्न सकेको छैन। एक बचतकर्ता आफूले मुद्धतिमा राखेको ३० लाख रकमको समय सिमा सकिएको र माग्न जादा आर्थिक मन्दीको कारण देखाउदै पैसा नपाएको गुनासो गरे ।

केही बचतकर्ताले दैनिक बचत गरेको रकम फिर्ता हुन नसकेपछि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरबाट दैनिक उपभोग्य सामान, लत्ता कपडा,इलेक्ट्रॉनिकसामानहरु र पेय पदार्थहरु ल्याएको बताएका छन् । वर्तमान अवस्थामा आर्थिक तरलताको चपेटमा अन्य संघ सस्थापनि परेकोले त्यसको प्रभाव शिव शिखर सहकारी संस्थाको बागलुङ शाखामा पनि परेको सहकारीका बागलुङ शाखा प्रबन्धक विष्णु भुषालले बताउनु भयो ।

एक महिना भित्र केन्द्रीय संचालकहरुको उपस्थितिमा तरलता व्यवस्थापन गर्ने तयारीमा रहेको प्रबन्धक भुषालले बताउनु भयो । गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको कारोवार भने नियमित रहेको र त्यहाँ भएको करोबारले सहकारीको कारोवार व्यवस्थापनका सहयोग पुगेको सहकारीले जनाएको छ ।

बागलुङ बजारबाट संकलित करौडौं रकम केन्द्रमा

अन्य शाखामा समस्या आउदा बागलुङमा पनि एकैपटक बचत फिर्ताको माग आउँदा समस्या परेको भन्दै केही समयमा यो समस्या समाधान हुने प्रबन्धक भुषालले बताउनु भयो।शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाले बागलुङ जिल्लाका वचतकर्ताहरुसँग ठुलो पुँजी संकलन गरेर केन्द्रमा लगेको छ ।

जुन रकमको सुरक्षाको चिन्ता अहिले बचतकर्ताहरुलाई परेको छ । थोरै बढि व्याज पाउने लोभमा बचतकर्ताले यस सहकारीमा आफनो जिवनभरको पुँजी बचत गर्दा त्यस रकमको भविष्यको बारेमा चिन्ता बढ्न थालेको छ ।केही वर्षअघि भक्तपुरका केन्द्रीय कार्यालय स्थापना गरी सहकारीले बचत तथा ऋणको कारोबारका साथै विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्टलगायतका क्षेत्रहरूमा लगानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्