७ जेष्ठ २०८१, सोमबार

 

तरलता अभाव भएको भनि इमेज सहकारी बन्द, बचतकर्ताहरुद्वारा सहकारी घेराउ

बागलुङ । बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि सहकारीमा बचतकर्ताको भिड लागेको छ । बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबार बचतकर्ताहरूको सहकारीको कार्यालयमा भिड लागेको हो ।

सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सूचना मार्फत जनाएको छ ।

सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गरेको छ । सहकारीले बैशाख ६ गतेको संचालक समितिको बैठक बसेको भनि सूचना जारी गरे पनि सूचना जारी गरेको मिति २०८० साल बैशाख र गतेमा सुन्य उल्लेख रहेको छ । यस्तो सूचनाले सेयर सदस्य र बचतकर्ताहरुलाई झन आशंका उत्पन्न गरेको छ ।

यस सहकारीमा जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट पठाएको रकम, सेवा निवृत्त शिक्षक, कर्मचारी र बालबालिकाहरुका करौडौं रकम बढि व्याज पाउने आशमा बचतकर्ताहरुले जम्मा गरेका थिए ।

बढि व्याज पाउने लोभले नेपाल बैंकबाट निकालेर आफूले यस सहकारीमा ४० लाख मुद्दती खातामा जम्मा गरेको बानपा २ श्रीनगर टोलका एक जेष्ठ बचतकर्ताले नयाँ विश्वलाई बताइन् ।बचतकर्ताहरुको आक्रोशित भिडले कार्यालय बन्द हुनुको कारण र आफनो जम्मा रकमको सुरक्षाको बारेमा सहकारीका संचालक चित्र बहादुर भण्डारीलाई घेरेर प्रश्न गरेका थिए ।

सहकारीले केहि दिन भित्रै रकम व्यवस्था गरेर प्रकृयागत रुपमा बचत रकम विस्तारै फिर्ता गर्ने संचालक भण्डारीले बताए । सहकारीको नाममा कराडौं अचल सम्पत्ति भएकोले बचतकर्ताहरुले चिन्ता लिनु नपर्ने संचालक भण्डारी सहकारीमा आएका बचतकर्ताहरुलाई आवश्त पार्न खोजे पनि बचतकर्ताहरुको आक्रोश कम भएको थिएन ।

सहकारीमा बचतकर्ताहरुको भिड बढेको मौखिक जानकारी प्राप्त भएपछि सुरक्षाको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले नयाँ विश्वलाई बताए ।

केहि महिना अगाडि बागलुङ नगरपालिका वडा नं २ श्रीनगर टोलमा संचालित भक्तपुर केन्द्रीय कार्यालय भएको शिव शिखर सहकारी समस्याग्रस्त हुँदा बचतकर्ताहरुको ४० करोड रकम जोखिममा परेको थियो भने शिव शिखर सहकारी  अहिले बन्द रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्