७ जेष्ठ २०८१, सोमबार

 

मेरो व्यक्तिगत सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु : देव कुमार नेपाली

- आज पनि बचतकर्ताहरुबाट इमेज सहकारी घेराउ

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले आफ्नो सम्पत्ति बेचेर भएपनि बचत कर्ताको पैसा फिर्ता गर्ने बताएका छन् । सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बागलुङ स्थित कार्यालय बचतकर्ताले घेराउ गरेपछि संस्थापक अध्यक्ष नेपालीले एक प्रतिवद्धता पत्र प्रकाशित गर्दै बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेका हुन् ।

सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सूचना सहकारीले प्रकाशित गरेको थियो ।

पछिल्लो २ हप्ता विभिन्न कारण देखाउदै शेयर सदस्य बचतकर्ताहरु बचत फिर्ता गर्न आउनु भएको र सस्थाले सबैको बचत फिर्ता गर्दा तरलता अभाव देखिएको बताएका छन् । बचत फिर्ता कसरी गर्न सकिन्छ भन्ने विषयमा गंभिरताका साथ लागि रहेको भन्दै विकल्पहरुका बारेमा गहन छलफल भइरहको वक्तव्यमा उल्लेख ।

सवै विकल्पहरु खुल्ला राखेर हामी सदस्यहरुको रकम फिर्ता गर्ने अभियानमै रहेकोले केही समयका लागि धैर्यता गरिदिन नेपालीले आग्रह गरेका छन् । नेपालीले भनेका छन् हामीसँग भएको चल अचल सम्पत्ती तथा मेरो व्यक्तिगत सम्पत्ती समेत विक्री गरेर भए पनि शेयर सदस्य र बचतकर्ताहरुको रकम भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

सहकारीले यो साता मात्रै चौंध करोड रुपैयाँ एकै पटक सहकारीबाट बचत फिर्ता भएकाले तरलता अभाव भएको स्वीकार गर्दै आएको छ । बचतकर्ताको पैसा कर्जा लगानीमा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सहकारीले जनाएको छ ।

५० प्रतिशत तरलता राख्दा समेत दैनिक कारोवार धान्न गाह्रो भएकाले समस्या आएको भन्दै सहकारीले बचतकर्ताको कुनै पनि रकम हिनामिना नहुने प्रष्ट पारेको हो । सहकारीका कार्यवाहक अध्यक्षले सूचना जारी गरेर कारोवार रोक पछि बचतकर्ताले सहकारी हिजोदेखि घेरेका थिए ।

सहकारीले बचत रकम फिर्ता नगरेको भन्दै निरास भएका बचतकर्तालाई सहकारीका कार्यबहाक अध्यक्ष डोर बहादुर परियारद्वारा हस्ताक्षरित प्रतिबद्धतामा ढुक्क रहन भनिएको छ । सहकारी ऐन, २०७४ ले सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्न, सो को परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने भने पनि इमेज बचत तथा ऋण सहकारीले गैरशेयर सदस्यहरुसँग बढि कारोबार गर्दै आएको थियो ।

सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि सहकारीमा बचतकर्ताको भिड लागेको थियो । बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबारदेखि बचतकर्ताहरूको सहकारी घेरेर सहकारीका संचालक चित्र बहादुर भण्डारीलाई आक्रोश पोखेका थिए ।

सामान्य चिया पसल र तरकारी पसल राख्ने वचतकर्तादेखि भाडा, कस्मेटिक,किराना, कपडा र इलेक्ट्रिक होलसेल गर्ने व्यवसायीहरुको मुद्धति र चल्तीमा राखेको करौडौं रकम जोखिममा परेको छ ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गरेको छ ।

आज पनि शेयर सदस्य र बचतकर्ताहरुले आफनो रकम फिर्ताको माग गर्दै इमेज सहकारी घेराउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय बागलुङले अप्रिय घटना नहोस भनि आज पनि प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्