२७ बैशाख २०८१, बिहीबार

 

सहकारीबाट १४ करोड लिएर व्यवस्थापक कुमार गौतम फरार

बनेपा नगरपालिका–७ मा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारीका व्यवस्थापक १४ करोड लिएर फरार भएका छन् । रामेछाप गुन्सी भदौरे–७ घर भई बनेपामा बस्दै आएका २९ वर्षीय कुमार गौतम पुण्यश्वर सहकारीको ९ करोड र द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड लिएर फरार भएका हुन् । हाल उनी सम्पर्कविहीन छन् ।

कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारकी श्रीमती पवित्रा चौलागाईं कोषाध्यक्ष छिन् । सानिमा कमला चौलागाईं सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् ।

दुवै संस्थाको लेखापालका रूपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाइ प्रदीप गौतम ऋण संयोजक छन् । भाइबुहारी गंगा श्रेष्ठ गौतम र भाइ उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदारहँदै सोही सहकारीको रकमबाट अस्ट्रेलिया पठाइएको छ ।

द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ । सञ्चालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौंरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपासहितका ७ हजार २ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् ।

कुमारका छिमेकी गंगाबहादुर तामाङ सचिव छन् भने निर्माण व्यवसायी अमृत गौतम र गोदामचोकमा कार्यालय हुँदा घरबेटी रहेका टीकालाल श्रेष्ठ सदस्य छन् । उपाध्यक्ष झम्कप्रसाद गौतम, सदस्य अमृत र टीकालालले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी गरेका छन् ।

नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्