२६ बैशाख २०८१, बुधबार

 

तरलता अभावको कारण बन्द भएको इमेज सहकारीको कार्यालय आजदेखि सुचारु

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङको कार्यालय आजदेखि सुचारु भएको छ ।  सहकारीको संचालक समितिको सोमबार बसेको बैठकले सहकारी आजदेखि संचालन गर्ने निर्णय गरेको थियो ।

आजदेखि हामीले सेवा प्रवाहलाई सुचारु गरेका छौं र हाम्रो शेयर सदस्य र बचतकर्ताहरुलाई केही समय धैर्य गरेर हामीलाई व्यवस्थापन गर्न सहयोग गर्न अनुरोध गरेका छौं इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका प्रबन्धक शक्ति किसानले नयाँ विश्वलाई बताउनु भयो ।

हामीले एक जना बचतकर्तालाई हप्ताको दुई चोटी पाँच हजारको दरले चल्ती खातामा रहेको रकम आजदेखि दिन थालेका छौं । यसरी दिनमा सय जनालाई पाँच हजारको दरले रकम दिन सुरु गरेका छौं प्रबन्धक किसानले जानकारी दिनु भयो ।

तरलता अभावको कारण हामीले केही समय म्याद समाप्त भएका मुद्धति खाताका बचतकर्ताहरुलाई नविकरण गर्न अनुरोध गरेका छौं र परिस्थिति सहज हुनासाथ मुद्धतिको रकम पनि हामीले भुक्तानी गर्ने छौं उनले भने । मुद्धतिको व्याज भने हामीले विस्तारै दिने छौं उनले भने ।

आजदेखि सहकारीका बजार प्रतिनिधिहरुले बजारबाट नगद संकलनको कार्य पनि सुरु गरेको सहकारीले जनाएको छ ।

बैशाख ७ गते कार्यवाहक अध्यक्ष डोर बहादुर परियारको हस्ताक्षर भएको विज्ञप्ती प्रकाशित गरी तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीको कार्यालय बन्द गरेपछि शेयर सदस्य र बचतकर्ताहरुबिच सहकारी डुब्ने हो कि ? भनि आतंक फैलिएको थियो ।

अचानक सूचना प्रकाशित गरी सहकारी बन्द गरेपछि शेयर सदस्य र बचतकर्ताहरुले बचत डुब्ने हो कि भनि सहकारी घरेका थिए ।

बैशाख ८ गते इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवकुमार नेपालीलले आफ्नो सम्पत्ति बेचेर भएपनि शेयर सदस्य र बचतकर्ताको पैसा फिर्ता गर्ने भनि वक्तव्य प्रकाशित गरेका थिए ।

सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बागलुङ स्थित कार्यालय बचतकर्ताले घेराउ गरेपछि संस्थापक अध्यक्ष नेपालीले एक प्रतिवद्धता पत्र प्रकाशित गर्दै बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको थियो ।

इमेज सहकारीमा सामान्य तरकारी, फलफुल, चिया पसलदेखि जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रकम, सेवा निवृत्त शिक्षक, कर्मचारी बालबालिकाहरु, अन्य सहकारी र संघसंस्थाहरुका करौडौं रकम १६ प्रतिशतदेखि १८ प्रतिशतसम्म व्याज पाउने आशमा बचतकर्ताहरुले जम्मा गरेका थिए ।

सहकारीका अध्यक्ष देव कृुमार नेपालीले बुर्तिवाङबाट आएर हिजो शेयर सदस्य र बचतकर्ताहरुलाई सहकारीले सबैको पैसा विस्तारै फिर्ता दिने कार्य योजना भएको भनि धैर्य गर्न आग्रह गरेका थिए ।

इमेज सहकारीका अध्यक्ष देव कुमार नेपालीले काठमाडौं, पोखरा, बागलुङ र वुर्तिवाङ बजारमा सहकारीको करोडौं रकम घरजग्गामा लगानी गरेका कारण सहकारीमा तरलताको अभाव भएको हो कि भनि आशंका गरिएको छ ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गरेको छ ।सहकारीका अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाका नगर प्रमुख पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्