२६ बैशाख २०८१, बुधबार

 

इमेज सहकारीका अध्यक्ष देव कुमार नेपाली फरार

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सहकारीको अराबौं रकम कुम्ल्याएर फरार भएका छन् । अध्यक्ष नेपालीले मोबाइल अफ गरी शुक्रबारदेखि सम्पर्कविहिन भएपछि प्रहरीले खोजतलास गरी रहेको थियो ।

नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई तीन अर्ब रकम अपचलन गरी भागेका छन् । शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।नेपालीले आफनो मोबाइल अफ गरेका छन् ।

नेपालीको गाडी चालक पनि सम्पर्कविहिन छन् । अध्यक्ष नेपाली सपरिवार भागेका छन् । सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कविहिन भएका छन् ।

सेयर सदस्य र वचतकर्ताहरुले नेपाली भाग्न सक्ने आशंका गरी नेपालीलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन् । उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले यात्रु अनुमति रोक्का गरी र पक्राउ गरी अनुसन्धान गर्न  गृहमन्त्रालय र अध्यागमन विभागलाई पत्राचार गरेको छ ।

साथै यस बारेमा प्रशासनले गण्डकी प्रदेशको सहकारी विभाग र केन्द्रीय सहकारी विभागलाई जानकारी गराएको छ ।  अध्यक्ष नेपाली जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ बजार गएका थिए । उनी सपरिवार जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट सम्पर्कविहिन छन् ।

नेपालीले शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई आफनो सुरक्षा नभएको र स्वास्थ्यमा समस्या आएको भनि निवेदन दिएका थिए । यस्तो निवेदन आएपछि अध्यक्ष नेपाली भाग्न सक्ने प्रहरीले अनुमान गरी नजिकबाट नेपालीको गतिविधिलाई अनुसन्धान गरी रहेको थियो ।

सहकारीका सेयर सदस्य र बचतकर्ताहरुले यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्र खड्का र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाइ जानकारी गराएका छन् ।

अध्यक्ष नेपालीले जेठ १ गते सेयर सदस्य र बचतकर्ताहरुको बागलुङ बजारमा भेला बोलाई आफनो सम्पत्ति बेचेर भएपनि सबैको पैसा फिर्ता दिने भन्दै आफूलाई छ महिनाको समय दिन अनुरोध गरेका थिए ।

इमेज सहकारीका अध्यक्ष नेपालीले सहकारीको बचत पैसा आफू खुशी चलाएर काठमाडौं, पोखरा, बागलुङ र वुर्तिवाङ बजारमा सहकारीको करोडौं रकम घरजग्गामा लगानी गरेका कारण सहकारीमा तरलताको अभाव भएपछि बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्