२६ बैशाख २०८१, बुधबार

 

इमेज सहकारीका अध्यक्ष नेपाली भागे, पक्राउको माग राखि बचतकर्ताद्वारा प्रशासन कार्यालयमा धर्ना

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपाली सहकारीको अराबौं रकम कुम्ल्याएर फरार भएपछि सेयर सदस्य र बचतकर्ताहरुले नेपालीलाई पक्राउको माग राखि जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् ।

अध्यक्ष नेपाली, अरु संचालक र कर्मचारीहरुलाई पक्राउ गरी बचतकर्ताहरुको जम्मा गरेको रकम फिर्ता हुने वातावरण निर्माणको माग गरी बचतकर्ताहरुले प्रशासनको गेटमा धर्ना दिएका थिए । अध्यक्ष नेपालीले मोबाइल अफ गरी शुक्रबारदेखि सम्पर्कविहिन भएपछि प्रहरीले खोजतलास गरी रहेको छ ।

नेपाली सपरिवार भागेका छन् ।हामी सेयर सदस्य र बचतकर्ताहरुको समस्या प्रति गम्भीर भएर सबै तहका सरकार, जनप्रतिनिधिहरु र प्रहरी प्रशासनले अध्यक्ष नेपाली र अन्य संचालको खोजी गरी कानुनी दायरामा ल्याएर हामीले सहकारीमा जम्मा गरेको रकम फिर्ता हुने वातावरण बनाइ दिनु पर्यो धर्ना दिन आएका एक बचतकर्ताले बताउनु भयो ।

सर्वसाधारणको अर्बौं रकम संकलन गरेर आफू खुशी निजी घरजग्गामा लगानी गरेका नेपालीले सर्वसाधरणको रकम फिर्ता गर्न नसकेपछि फरार भएका छन् ।त्यो रकम दुरुपयोग गर्दै मेयर नेपालीले बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा व्यक्तिगत रुपमा घरजग्गा खरिद गरेका थिए।

शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।नेपालीले आफनो मोबाइल अफ गरेका छन् ।

नेपालीको गाडी चालक पनि सम्पर्कविहिन छन् । सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कविहिन भएका छन् ।अध्यक्ष नेपालीले बैशाख ४ गते इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्याले मानसिक तनाव भएको र केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गर्र्दैै पत्र दिएपछि प्रहरीले नेपाली भाग्न सक्ने अनुमान गरी उनको गतिविधिलाई नजिकबाट अनुसन्धान गरी रहेको थियो ।

आजै सेयर सदस्य र बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई नेपाली विरुद्ध उजुरी दिएका थिए ।

उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले यात्रु अनुमति रोक्का गरी र पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्रालय र अध्यागमन विभागलाई पत्राचार गरेको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले नेपाली विदेश भाग्न सक्ने आशंकामा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह गरेको छ ।

इमेज सहकारीमा ८ सयभन्दा धेरै सेयर सदस्य र बचतकर्ताहरुको झन्डै ३ अर्ब बढी बचत थियो। नेपालीले काठमाडौै, पोखरा, बागलुङ र बुर्तिबाङको घरजग्गा प्रभु बैंक, ग्लोबल बैंक, नेपाल इभेस्टमेन्ट बैंक, मेगा बैंक र गरिमा बैंकमा धितो राखि ५० करोड रुपैयाँबराबर कर्जा लिएका छन्। इमेज सहकारीका नाममा पनि नेपालीले ३५ करोडको कर्जा लिएका छन् । यसको विवरण कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्