२६ बैशाख २०८१, बुधबार

 

फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित ७ जना सञ्चालकलाई यात्रा अनुमतिमा रोक

बागलुङ । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर  नेपालीसहित सात जना संचालकको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षर भएको पत्रमा संस्थापन अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन विभागलाई पत्र पठाएको हो ।

गृहको निर्देशन अनुसार हामीले उनीहरुलाई कालो सूचीमा राखिसकेका छौं अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

कालो सूचीमा परेकाहरु हाम्रो इमिग्रेसन पार गरेर केही पनि जान सक्दैनन् भुसालले भन्नु भयो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट नेपाली भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई पत्राचार गरेको थियो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर  नेपाली सपरिवासहित सहकारीको अराबौं रकम हिनामिना गरी फरार भएका थिए ।

अध्यक्ष नेपालीले मोबाइल अफ गरी शुक्रबारदेखि सम्पर्कविहिन भएपछि प्रहरीले खोजतलास गरी रहेको थियो ।

आइतबार अध्यक्ष नेपाली भाग्न सक्ने आशंका गरी सेयर सदस्य र वचतकर्ताहरुले नेपालीलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई, तीन अर्ब रकम अपचलन गरी भागेका छन् । अध्यक्ष नेपालीले जेठ १ गते सेयर सदस्य र बचतकर्ताहरुको बागलुङ बजारमा भेला बोलाई आफनो सम्पत्ति बेचेर भएपनि सबैको पैसा फिर्ता दिने भन्दै आफूलाई छ महिनाको समय दिन अनुरोध गरेका थिए ।

इमेज सहकारीका अध्यक्ष नेपालीले सहकारीको बचत पैसा आफू खुशी चलाएर काठमाडौं, पोखरा, बागलुङ र वुर्तिवाङ बजारमा सहकारीको करोडौं रकम घरजग्गामा लगानी गरेका कारण सहकारीमा तरलताको अभाव भएपछि बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन ।

सहकारीले १८ प्रतिशत व्याज दिने भनेपछि ससाना खुद्रा व्यवसायीदेखि होलसेल व्यवसायी, जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट युवाहरुले पठाएको रेमिटन्स, शिक्षक, कर्मचारी, प्रहरी, विद्यालय, क्लब, मन्दिर, मजदुर, किसान, कर्मचारी, बालबालिकाहरुका करौडौं रकम जम्मा गरेका थिए ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।

तरलता अभाव भएपछि इमेज सहकारी बैशाखको पहिलो हप्तादेखि नै समस्याग्रस्त भएको थियो । बैशाख ७ गते सहकारीले तरलता अभाव भएको भनि सहकारीले सूचना प्रकाशित गरी कार्यालय बन्द गरेपछि सेयर सदस्य र बचतकर्ताहरुमा आतंक छाएको थियो ।

सहकारीको नियमन फितलो हुँदा संचालकले आफूखुशी लगानी गरिरहेका छन्। सहकारीको नियम विपरित उनीहरुले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा शेयर सदस्य र बचतकर्ताहरुको अरबौ रकम डुब्ने गरेको छ।

डुबेका अधिकांश सहकारीको व्यापार, उद्योग, घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। शेयर मार्केट र घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि संचालकहरु भाग्ने र पक्राउ पर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्