६ जेष्ठ २०८१, आईतवार

 

शिवशिखर सहकारी ठगी प्रकरण : बागलुङमा कागजात संकलन गर्दै प्रहरी

बागलुङ । बागलुङमा ४२ करोड भन्दा बढी रुपैयाँ बचतकर्ताबाट निक्षेप संकलन गरि संचालक भागेपछि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको संचालक विरुद्धमा जिल्ला प्रहरी कार्यालयले उजुरी संकलन सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा सहकारीबाट ठगिएका बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराउन थालेका छन्।

जेठ १० गतेदेखि १ सय ३१ जनाले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजाराम खड्काले नयाँ विश्वलाई बताउनु भयो । उजुरी दर्ता हुने क्रम जारी रहेकोले मंगलबारबाट संचालकहरुको विरुद्ध थप अनुसन्धान प्रक्रिया अगाढी बढाउने सूचना अधिकारी खड्काले बताउनु भयो ।

प्रहरीले शिवशिखर सहकारी संस्थामा बचत गरेका सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिन आह्रवान गरेको छ ।गत फागुन २ गते बचतकर्ताको व्याज र बचत रकम फिर्ता दिन नसकेपछि सहकारीले तरलताको अभाव देखाउँदै सूचना टाँसेर सहकारी बन्द गरेको अध्यक्ष सुशील बानियाँले हस्ताक्षर गरिएको सूचनामा उल्लेख थियो ।

सहकारीले बागलुङ बजारमा ३५ सय सेयर सदस्यबाट ३५ करोड ७१ लाख बचत र १ करोडभन्दा बढि सेयर रकम गरी ३७ करोड रुपैयाँ संकलन गरेको थियो भने बुर्तिबाङ बजारमा एक हजार सेयर सदस्य र बचतकर्ताहरुबाट २ करोड संकलन गरेको शिवशिखर सहकारी बागलुङ शाखाका प्रबन्धक विष्णु भुषालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

अरु बचतकर्ताहरुको हिसाब संकलन भइरहको सहकारी बताएको छ ।सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरेको साढे तीन महिना वितिसकेको छ ।पीडितको उजुरीका आधारमा सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएपछि छानविन प्रक्रिया अगाढी बढाउने प्रहरीले जनाएको छ ।

बचतकर्ताहरुको संख्या र रकम यकिन भैनसकेको प्रहरीले जनाइएको छ । सहकारीमा सर्वसाधारण जनताहरुको करोडौ रकम जोखिममा परेको छ ।सहकारीले बागलुङमा विभिन्न किसिमका बचत खाता मार्फत कारोबार गर्नुका साथै गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर संचालन गरेको थियो ।

बागलुङमा संचालित अरु सहकारीहरुले भन्दा धेरै व्याज दिएको भन्दै बचतकर्ताहरुले धेरै रकम बजार प्रतिनिधिमार्फत यस सहकारीमा बचत गरेका थिए ।उद्योगी, व्यवसायी, किसान, मजदुर, शिक्षक, कर्मचारी, जेष्ठ नागरिक, वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाउको पैसा, विद्यालय, मन्दिर, क्लबले सहकारीमा बचत गरेका थिए ।

धेरै गृहनीहरुले वैदेशिक रोजगारमा गएका आफनो श्रीमानहरुले पठाएको पैसा पनि यसै सहकारीमा बचत गरेका छन् ।अमेरिका, जापान, युरोप, दुबइ, कतार, साउदी र दक्षिण कोरियालगाएत देशहरुबाट युवाहरुले पठाएको रेमिट्यान्सको ठुलो रकम यस सहकारीमा परिवारहरुले जम्मा गरेका थिए ।

केही बचतकर्ताले दैनिक बचत गरेको रकम फिर्ता हुन नसकेपछि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरबाट दैनिक उपभोग्य सामान, लत्ता कपडा,इलेक्ट्रॉनिकसामानहरु र पेय पदार्थहरु समेत लगेका थिए ।

बचतकर्ताको करोडौं रकम हिनामिना गरी संचालक फरार भएपछि बचतकर्ताले धमाधम प्रहरीमा उजुरी दिन थालेका हुन् ।

शिवशिखरको शाखा बागलुङ बजार र बुर्तिबाङ बजारका बचतकर्ताका कागजात प्रहरीले संकलन गरिरहेको छ।बचतकर्ताहरुले संचालकहरुले संगठित रुपमा गरेको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा लामो समयदेखि आवाज उठाउदै आएका थिए ।

शिव शिखर सहकारीको कुल १४ अर्ब निक्षेप हिनामिना भएकोमा पूर्वअध्यक्ष केदारनाथ शर्मा र श्रीमती गीता शर्माले मात्र करिब १० अर्ब दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका ३५ वटा जिल्लाको विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा सर्वसाधारणको करिब १४ अर्ब निक्षेप हिनामिना भएको छ ।

त्यसमध्ये करिब १० अर्ब संस्थाका पूर्वअध्यक्ष शर्मा र उनकी श्रीमती गीताले मात्र हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक अनुसन्धानले देखाएको छ ।उनीहरूले आफ्ना नाममा करिब एक दर्जन कम्पनी खोलेर सहकारीको पैसा त्यसमा लगानी गरेका थिए ।

त्यो पैसा फर्काउन नसकेपछि सहकारी समस्यामा परेको हो । बचतकर्ताले रकम हिनामिना गरेको उजुरी दिएपछि प्रहरीले शिव शिखर बहुउद्देश्यीय सहकारीमाथि अनुसन्धान थालेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली ९सीआइबी० ले फाइल खोल्दा अर्बौं रकम घोटाला भएको देखिएको छ। फाइल अगाडि बढेपछि सहकारीका सञ्चालक फरार भएका छन्।

सीआइबीको टोलीले अहिले सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका सहकारीका संचालक पुष्कर मल्ल रहेका छन्।

गीता शर्मा सहकारी पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार रहेका छन्। त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लिलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्