बागलुङ । बागलुङ नगरपालिका वडा नं ४ का कृषकलाई वडा कार्यालयले अनुदानमा कृषि सामाग्री वितरण गरेको छ । वडा कार्यलयले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट मार्फत कृषि समितिले आईतबार एक कार्यक्रमको आयोजना गरि वडा भित्रका ७५ जना कृषकलाई ड्रम वितरण गरेको हो ।
पानीको चरम अभाव भोगिरहेका स्थानीय किसानलाई राहत पु¥याउने उद्देश्यले ५ सय लिटरको ७५ वटा ड्रम वितरण गरिएको वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले बताउनु भयो । वडामा गठित कृषि समिले आवश्यकता पहिचान गरि ५० प्रतिशत अनुदानमा ड्रम वितरण गरिएको छ ।
पानी भन्डारण गरेर करेसा वारीमा तरकारी उत्पादन गर्न सघाउने उद्देश्यले वडाले ड्रम वितरण गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो। वडाको सहयोगले कृषकलाई तरकारी लगाएत अन्य बालि उत्पादनमा सहज हुने स्थानीय नारायण शर्माले बताउनु भयो ।
वडा कार्यलयबाट विनियोजन भएको ३ लाख ५० हजार बजेट मार्फत पहिलो चरणमा ५० प्रतिशत अनुदानमा ७५ जनालाई ड्रम वितरण गरिएको र ५ जना कृषकलाई अनुदानमा भकारो सुधार र ७० कृषकलाई लोकल कुखुराका चल्ला वितरण गर्ने कार्यक्रम रहेको कृषि समितिका अध्यक्ष पिंगला जिसीले बताउनु भयो ।
वडाले विनयोजन गरेको बजेट मार्फत वडा भित्रका १ सय ५० कृषकले अनुदान सेवा पाउने जिसीले बताउनु भयो । कार्यक्रम कृषि समितिका सहसचिव नारायण आचार्यले गर्नु भएको थियो ।



















































































































































































































