६ जेष्ठ २०८१, आईतवार

 

इमेज सहकारी ठगी प्रकरण : भोलिदेखि बागलुङमा कागजात संकलन गर्दै प्रहरी

बागलुङ । बचतकर्ताहरुको २ अर्ब हिनामिना गरि फरार भएका इमेज सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालयले भोलिदेखि उजुरी संकलन गर्ने भएको छ ।

बागलुङमा सहकारीबाट ठगिएका बचतकर्ताले भोलिदेखि सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराउन पाउनेछ ।जेठ १७ गतेदेखि उजुरी दर्ता गराएउन हामीले सबै पीडित सेयर सदस्य र बचतकर्ताहरुलाई आव्हान गरेका छौं जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले नयाँ विश्वलाई बताउनु भयो ।

हामीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवि) बाट इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाही विरुद्ध बचतकर्ताहरुको अरबौ रकम अपचलन गरि संगठित ठगी गरेकोले उनीहरु विरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन आज पत्र प्राप्त भएको छ प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनु भयो ।

भोलिदेखि इमेज सहकारीको कार्यालयमा विहान १० बजेदेखि बचतकर्ताहरुको आवश्यक कागजात सहित उजुरी दर्ताको लागि पहल सुरु हुने इमेज सहकारी पीडित संघर्ष समितिका अध्यक्ष दिल बहादुर कार्कीले जानकारी दिनु भयो ।

गण्डकी प्रदेशको सहकारी विभागका रजिष्ट्रार रोशन अर्यालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवि) लाई अध्यक्ष नेपालीसहित अन्य संचालकहरुलाई पक्राउ गर्न र घर जग्गा रोक्का राख्न भूमि व्यवस्था विभागलाई पत्राचार गरेको थियो।

काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा रहेको अध्यक्ष नेपाली, अन्य संचालकहरु र सहकारीको नाममा रहेको घर जग्गा रोक्का र बैंक खातासमेत रोक्का राख्न सहकारी विभागले पत्राचार गरेपछि उनीहरुको घर,जग्गा र बैंक खाता रोक्का राखेको छ ।

इमेज सहकारीको पोखरामा ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ र ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको बागलुङ बजारमा १ अर्ब ५० करोड, गलकोट हटिया १८ करोड र बुर्तिबाङ बजारमा १२ करोड गरि मात्रै डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पोखराको महानगरपालिकामा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेका नेपाली दुवै सहकारीका अध्यक्ष छन् ।सहकारी ऐनले एउटै व्यक्ति एकभन्दा बढि सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ।

तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्।जनप्रतिनिधी पनि सहकारीको संचालक हुन नपाउने कानुनी व्यवस्था छ ।२०७४ मा स्थानीय तहको निर्वाचनपछि ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले त्यसपछि सहकारीको संचालक पद छाड्नुपर्थ्यो।उनले २०७९ मा दोश्रो पटक मेयरमा निर्वाचित भएपछि पनि सहकारीको संचालकबाट राजिनामा दिएका थिएनन् ।

जेठ ७ गते अध्यक्ष नेपालीसहित अन्य संचालकहरु भाग्न सक्ने आशंका गरी वचतकर्ताहरुले उनीहरुलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको थियो ।

सोहि पत्र अनुसार जेठ ७ गते गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलले अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन गरिएको थियो ।इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवासहित सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

सर्वसाधारण जनताहरुको अरबौं रकम जोखिममा पर्दा पनि जनप्रतिनिधि, सबै तहको सरकार र राजनैतिक दलहरुका नेतृत्वले यस विषयमा खासै चासो दिएका छैनन् ।

पीडितहरुमा जनप्रतिनिधि, सरकार र राजनैतिक दलहरुका नेतृत्वप्रति तिब्र आक्रोश देखिन्छ ।

सहकारीले १८ प्रतिशत व्याज दिने भनेपछि ससाना खुद्रा व्यवसायीदेखि होलसेल व्यवसायी, जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट युवाहरुले पठाएको रेमिटन्स, शिक्षक, कर्मचारी, प्रहरी, विद्यालय, क्लब, मन्दिर, मजदुर, किसान, कर्मचारी, बालबालिकाहरुका करौडौं रकम जम्मा गरेका थिए ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको इमेज सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङमा सेवा केन्द्र र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।तरलता अभाव भएपछि इमेज सहकारी बैशाखको पहिलो हप्तादेखि नै समस्याग्रस्त भएको थियो ।

सहकारीको फितलो नियमन र अनुगमनको फाइदा उठाउदै अध्यक्ष नेपालीले सहकारीको करोडौं रुपैयाँ आफूखुशी घर जग्गालगाएत विभिन्न क्षेत्रमा लगानी गरिरहेका थिए।

सहकारीको नियम विपरित उनले घर जग्गा धितो राखेर पनि लगानी गरि रहेको देखिन्छ । छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा बचतकर्ताहरुको अरबौ रकम जोखिममा परेको हो ।

नेपालीले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा घर जग्गामा लगानी गरेको देखिन्छ।

घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरु भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्