६ जेष्ठ २०८१, आईतवार

 

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको चल-अचल सम्पत्ति रोक्का प्रक्रिया सुरु

बागलुङ । इमेज बचत तथा ऋण सहकारीका सस्थाका अध्यक्ष देवकुमार नेपालीको चल-अचल सम्पत्ति तथा बैङ्क खाता रोक्का प्रक्रिया सुरु भएको छ ।

सहकारीको अरबौं रुपैयाँ हिनामिना पारेर फरार रहेका ढोरपाटन नगरपालिका नगर प्रमुख समेत रहेका नेपालीको बुर्तिबाङ, बागलुङ, पोखरा तथा काठमाण्डौमा रहेको चल-अचल सम्पत्ति, सेयर तथा बैङ्क खाता रोक्काको प्रकृया सुरु भएको हो ।

अध्यक्ष नेपालीका नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरिएको गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार रोशन अर्यालले नयाँ विश्वलाई बताउनु भयो ।

नेपालीसँगै सहकारीका संचालक चित्र बहादुर भण्डारीको  बुर्तिवाङ बजारमा रहेको घर जग्गा रोक्का लागि पत्राचार गरिएको छ ।

सहकारीका अन्य संचालकहरु डोर बहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु रुपा विक र झग बहादुर शाहीको पनि घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न प्रकृया सुरु भएको छ ।कित्ता नंम्बर खुलेको घर जग्गाको विवरण, बैंक र सेयरमा रहेको सम्पत्ति रोक्काको लागि गत शुक्रबार पत्राचार गरिएको अर्यालले बताउनु भयो ।

अध्यक्ष नेपालीसहित अन्य संचालकहरुको अरु जिल्लाहरुमा संपत्ति भए भूमि व्यवस्था विभागले खोज्ने सहकारी विभागले जनाएको छ ।

फरार रहेका अध्यक्ष देवकृुमार नेपाली सम्पर्कमा आए प्रक्रियामा सहज हुने र नआएको खण्डमा गण्डकी प्रदेश सहकारी विभागले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण  मन्त्रालयमा पत्राचार गरेपछि मन्त्री परिषदको बैठकले समिति बनाएर घर जग्गा, सेयर र बैंक खातामा भएको रकम र सहकारीको दायित्व तथा ऋण अध्ययन गरि विक्रीको प्रक्रिया अगाडि बढ्ने सहकारी विभागका रजिष्ट्रार अर्यालले बताउनु भयो ।

त्यसपछि मात्र बचतकर्ताहरुको आफनो रकम पाउने उनले भने ।

बचतकर्ताले संचालकलाई नियन्त्रणमा लिएर रकम असुली गरिदिन माग गदै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवि) ले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित, कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाही विरुद्ध बचतकर्ताहरुको अरबौ रकम अपचलन गरि संगठित ठगी गरेकोले उनीहरु विरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई हिजो पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्