६ जेष्ठ २०८१, आईतवार

 

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित ३ जनाको सम्पत्ति रोक्का

बागलुङ । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली सहित ३ जनाको सम्पत्ति रोक्का भएको छ ।

अध्यक्ष नेपालीको नाममा रहेको बागलुङ बजारसहित बुर्तिबाङ बजारमा रहेका घर जग्गा रोक्का भएको हो । नेपालीसँगै उनकी श्रीमती छेला नेपाली र संचालक चित्र बहादुर भण्डारीको नाममा रहेको घर जग्गा रोक्का भएको छ ।

ढोरपाटन नगरपालिका नगर प्रमुख समेत रहेका नेपालीले सहकारीको अरबौं रुपैयाँ हिनामिना पारेर फरार भएपछि गण्डकी प्रदेश सहकारी विभागका तथा पोखरा महानगरपालिका सहकारी शाखाले भूमि व्यवस्था तथा अभिलेक विभागलाई पत्र लेखेपछि विभागले जिल्ला मालपोत कार्यालय बागलुङ र मालपोत कार्यालय बुर्तिवाङलाई पत्राचार गरेको थियो ।

सहकारीका अध्यक्ष नेपाली, उनकी श्रीमती छेला नेपाली र सहकारीका संचालक भण्डारीको नामका रहेका सवै घर जग्गा रोक्का गरिएको मालपोत कार्यालय बुर्तिवाङका प्रमुख सूर्य प्रसाद शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

भूमि व्यवस्था विभागबाट जेठ ९ गते पत्र प्राप्त भएको र ११ गते घर जग्गा रोक्का राखेको हो ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर १, २ र ३ मा रहेका अध्यक्ष नेपालीको २२ कित्ता, श्रीमती छेला नेपालीको नाममा रहेका ७ कित्ता र चित्र वहादुर भण्डारीको नाममा रहेको १२ कित्ता घर जग्गा रोक्का गरिएको छ । यस्तै देव कुमार नेपालीको नाममा रहेको बागलुङ नगरपालिका २ हल्लन चोकमा रहेको ४ कित्तामा रहेका २ वटा घर रोक्का गरिएको छ ।

केन्द्रको पत्र अनुसार अध्यक्ष नेपालीको नाममा रहेका बागलुङ बजारका घर, जग्गा रोक्का गरिएको मालपोत कार्यलय बागलुङका प्रमुख राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनु भयो । अध्यक्ष नेपालीले बागलुङ बजार र बुर्तिवाङ बजारमा रहेका धेरै जसो घर जग्गा विभिन्न बैंकमा धितो राखेर कर्जा निकालेकाले रोक्का रहेको थियो ।

अध्यक्ष नेपाली र अन्य संचालकहरुको सेयर तथा बैङ्क खाता रोक्का गरिएको छ।

गण्डकी प्रदेश सहकारी विभागले गत शुक्रबार अध्यक्ष नेपालीसहित अन्य संचालकहरुको नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरेको थियो ।

सहकारीका अन्य संचालकहरु डोर बहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु रुपा विक र झग बहादुर शाहीको पनि घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न प्रकृया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्