६ जेष्ठ २०८१, आईतवार

 

बचतकर्ताद्वारा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध ठगीको जाहेरी दर्ता

बागलुङ । बचतकर्ताहरुको झण्डै २ अर्ब हिनामिना गरि फरार भएका इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुको विरुद्धमा  ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दर्ता सुरू भएको छ।मंगलबार बचतकर्ताहरुले सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका हुन् ।

आज ३७ जनाले अध्यक्ष नेपालीसहित सहकारीका संचालक विरुद्ध १४ करोड २२ लाख विगो रकमसहित जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

बचतकर्ताले बचत सम्बन्धित कागजात सहित उजुरी दिएको केसीले जानकारी दिनुभयो ।मंगलबारबाट जाहेरी लिन सुरु गरेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बावु केसीले बताउनु भयो ।जाहेरी दर्ता गर्नेहरूको सङ्ख्या बढिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवि) ले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित, कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाही विरुद्ध बचतकर्ताहरुको अरबौ रकम अपचलन गरि संगठित ठगी गरेकोले उनीहरु विरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार गरेको थियो ।

यो पत्र प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले प्रहरी नायब उपरीक्षक मदन केसीको कमाण्डमा ९ सदस्यीय अनुसन्धान गर्ने टोलि गठन गरेको थियो ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको इमेज सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङमा सेवा केन्द्र र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।तरलता अभाव भएपछि इमेज सहकारी बैशाखको पहिलो हप्तादेखि नै समस्याग्रस्त भएको थियो ।

सहकारीको फितलो नियमन र अनुगमनको फाइदा उठाउदै अध्यक्ष नेपालीले सहकारीको करोडौं रुपैयाँ आफूखुशी घर जग्गालगाएत विभिन्न क्षेत्रमा लगानी गरिरहेका थिए।

सहकारीको नियम विपरित उनले घर जग्गा धितो राखेर पनि लगानी गरि रहेको देखिन्छ । छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा बचतकर्ताहरुको अरबौ रकम जोखिममा परेको हो ।नेपालीले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा घर जग्गामा लगानी गरेका थिए।

घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरु जेठ ६ गतेदेखि फरार छन् भने अध्यक्ष नेपाली, श्रीमती छेला नेपाली र संचालक चित्र बहादुर भण्डारीको नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्