६ जेष्ठ २०८१, आईतवार

 

शिव शिखर सहकारी ठगीका तीन अभियुक्त जेल चलान

काठमाडौं ।बचतकर्ताहरुको अरबौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकहरु पुष्कर मल्ल र अमिस राजभण्डारी तथा सो संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मालाई थुनामा पठाउने आदेश दिएको हो ।

गत शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० जनाविरुद्ध सरकारी वकिलमार्फत भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । भक्तपुरका एक हजार चार सय ३९ जना बचकर्ताहरुले ७५ करोड ३२ लाख रुपैयाँको सिआइबीमा जाहेरी दिएका थिए ।

शिव शिखर सहकारीको ३५ जिल्लामा शाखा रहेको र एक लाखभन्दा धेरै बचतकर्ताहरुको करिब १४ अर्ब रुपैयाँ संचालकहरुले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

शिबशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्माले सहकारीका बचतकर्ताको बचत सहकारीको नियम विपरित विभिन्न कम्पनीमा लगाएको गरेको थियो। शिवशिखर सहकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले सहकारीको रकम करिब तीन दर्जन कम्पनीमा लगानी गरेको भेटिएको छ ।

सहकारी विभागले विभिन्न नियकाहरुको सहयोगमा अनुसन्धान गर्दा सहकारीको १० अर्ब बचतमध्ये १ अर्ब ९० करोड रुपैयाँ सहकारीका सदस्य र बाँकी ८ अर्ब बढी रकम सो सहकारीका सिस्टर कम्पनीहरुमा लगानी गरेको भेटिएको छ।

निवर्तमान अध्यक्ष केदार शर्मासहित अन्य सञ्चालकहरु फरार छन् । सहकारी विभागले गत फागुनमा निर्णय गर्दै सो सहकारी संस्थाका सञ्चालक समितिसदस्यहरु, निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, निजकी श्रीमती गीता शर्मा र व्यवस्थापक लिलानाथ गौतमका सम्बन्धमा सहकारी ऐन २०७४ को दफा १२९ बमोजिम अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरालाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्