२ जेष्ठ २०८१, बुधबार

 

इमेज सहकारीको छानविनमा खटिएको टोली बुर्तिवाङमा, कागजात अनुसन्धान गर्दै

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको इमेज बचत तथा ऋण सहकारीको छानविनमा खटिएको प्रहरीसहितको टोली बुर्तिवाङ पुगेको छ ।

सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा इलाका प्रशासन कार्यालयले शिल गरेको इमेज सहकारीको बुर्तिबाङको कार्यालयमा रहेका कागजात तथा कम्प्युटरमा रहेको फाइलको टोलीले अनुसन्धान थालेको हो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, इलाका प्रशासन कार्यालय बुर्तिवाङ, जिल्ला प्रहरी कार्यालय, बागलुङ र सहकारी पीडित सर्घष समितिको रोहवरमा शिल खोलेर अनुसन्धान थालिएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बाबु केसी , इलाका प्रशासन कार्यालय बुर्तिवाइका प्रमुख लोक बहादुर कुँवर लगाएतको टोलीले सकारीमा रहेका सम्पूर्ण कागजात तथा कम्युटर नियन्त्रण गरि आवश्यक अध्ययन गरिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीको नेतृत्वमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिपक बाबु केसी लगाएतको टोलिले जाहेरी संकलन गरि अनुसन्धान अगाडि बढाएको हो ।
बचतकर्ताहरुको कागजातहरु सुरक्षित होस र अनुसन्धानमा सहयोग पुगोस भनि इमेज सहकारीको बागलुङ बजार कार्यालयसहित गलकोट हटिया र बुर्तिबाङ बजारमा रहेको शाखा कार्यालयहरुमा पनि शिल गरिएको थियो ।

शिल गरिएका इमेज सहकारीको कार्यालय खोलेर कागजात लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो । बागलुङ बजार र गलकोट हटियामा रहेको कार्यालयको कागज पत्र अनुसन्धान गरि टोली बुर्तिवाङ पुगेको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका देवकुमार नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

त्यस्तै सहकारीका संचालक चित्र बहादुर भण्डारी र कर्मचारी लालमती रोकालाई प्रहरीले प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।

अध्यक्ष देवकुमार नेपालीसँग मिलेर बचतकर्ताहरुको अरबौं रकम ठगेर फरार रहेका भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको हो भने सहकारीका कर्मचारी लालमती रोकालाई शुक्रबार ताराखोलाबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्