२ जेष्ठ २०८१, बुधबार

 

इमेज सहकारीका बचतकर्ताको आन्दोलन चर्कदै, बागलुङ बजारमा विशाल जुलुस प्रदर्शन

बागलुङ । बागलुङमा चरणबद्ध आन्दोलन थालेका इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले बिहिबार बागलुङ बजारमा विशाल जुलुस प्रदर्शन गरेका छन् । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् ।

बचतकर्ताले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्कीसहितिको टोलिले ज्ञापनपत्र बुझाएका छन् । नेपालीलाई पक्राउ गरि तत्काल बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष समितिले माग गरेको छ ।

बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि भागेका देवकुमार नेपालीलगाएत अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ता गराउन माग गर्दै सयौ बचतकर्ताले बागलुङ बजारको मुख्य मुख्य चोकहरुमा प्रदर्शन गरेका थिए ।

जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए भने बचत रकम फिर्ता गर्न, देवकुमार नेपालीलाई गिरफ्तार गर्न नारा लगाएका थिए ।

बागलुङ बजारको हल्लन चोकबाट सुरु भएको प्रदर्शन आवारोड, ट्राफिक चोक, समिटचोक, जिल्ला प्रहरी कार्यलय अगाडीबाट, जिल्ला अदालत, चिप्लेटी बसपार्क, पेन्सन क्याम्प रोड हुँदै जिल्ला प्रशासन कार्यलयमा आएर ज्ञापनपत्र बुझाएको थिए ।

ढोरपाटन नगरपालिका मेयर समेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

बचतकर्ताको करिव २ अर्ब रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएपछि हजारौ बचतकर्ताहरु विचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्