२ जेष्ठ २०८१, बुधबार

 

इमेज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी शक्ति किसान र लालमती रोका जेल चलान

बागलुङ । इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

बिहीबार जिल्ला न्यायाधीश डा दिवाकर भट्टको इजलाशले सहकारीका सञ्चालक भण्डारी, प्रबन्धक किसान र कर्मचारी रोकालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

१ हजार ४ सय ८१ जना बचतकर्ताले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित ११ जना संचालकहरु विरुद्ध १ अर्ब ५१ करोड हिनामिना गरेको भन्दै १ अर्ब ३० करोड विगो दाबी गरेर अदालतमा ठगी मुद्दा दर्ता गरेका थिए ।

सहकारीका संचालक र कर्मचारीलाई ८ देखि १० वर्ष कैद सजायको माग दावीसहित मुद्दा दर्ता भएको भएको थियो ।यस अघि इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थिए ।

असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई प्रहरीले पक्राउ गरेको थियो ।अहिलेसम्म अध्यक्ष देवकुमार नेपाली लगाएत अन्य सञ्चालकहरु पक्राउ पर्न सकेका छैनन् ।

देवकुमार नेपाली अहिले कहाँ छन् ? उनी कहिले पक्राउ पर्छ ? भन्ने बारेमा पीडित बचतकर्ताहरु लगाएत सर्वसाधारण जनताले चासो र चिन्ता व्यक्त गरेको भए पनि अहिलेसम्म देवकुमार नेपालीको बारेमा प्रहरीको अनुसन्धान कहाँ पुग्यो अहिलेसम्म बचतकर्ताहरुले थाहा पाउन सकेका छैन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएपछि हजारौ बचतकर्ताहरु विचल्लीमा परेका छन् ।

प्रहरीले ढोरपाटन नगरपालिकाका मेयर नेपालीका चालकलाई पक्राउ गरि अनुसन्धान गर्यो भने नेपालीको बारेमा धेरै सूचना प्राप्त हुने भए पनि प्रहरीले उनलाई आजसम्म पक्राउ गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्