३ जेष्ठ २०८१, बिहीबार

 

७ वटा सहकारीको पैसा इमेज सहकारीमा, १ करोड, ६० लाख, ८७ हजार जोखिममा

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको बागलुङको इमेज बचत तथा ऋण सहकारीमा ७ वटा सहकारीको रकम रहेको खुलासा भएको छ । इमेज सहकारीमा सात वटा सहकारीको १ करोड, ६० लाख, ८७ हजार, ५ सय, २५ रुपैयाँ जोखिममा परेको हो ।

सहकारीको नियम विपरित ७ वटा सहकारीका अध्यक्ष,संचालक तथा प्रवन्धकले आफू खुशी रकम इमेज बचत तथा ऋण सहकारीमा राख्दा शेयर सदस्य र बचतकर्ताहरुको रकम जोखिममा परेको हो।

बागलुङ नगरपालिका वडा नं २ को श्रीनगर टोलमा रहेको भूपुसैनिक बचत तथा ऋण सहकारीको ८३ लाख ७७ हजार १ सय २६ रुपैयाँ, बागलुङ नगरपालिका वडा नं ५ मालिकाको पालुवा व्यवसायीक कृषि सहकारीको २७ लाख ३७ हजार १ सय ५९ रुपैया, बागलुङ नगरपालिका वडा नं २ को लालिगुराँस चोकमा रहेको कालिका बचत तथा ऋण सहकारीको ३९ लाख ८७ हजार ७ सय ९९ रुपैयाँ, गलकोट बहुउद्देश्यीय सहकारीको ३ लाख ६ हजार ७ सय २३, गलकोट नगरपालिका वडा नं २ को जिवन सहारा महिला बचत तथा ऋण सहकारीको ४५ हजार ५ सय, बेनी नगरपालिका १ रत्नेचोर, म्याग्दीको रत्न बहुउद्देश्यीय सहकारीको २५ हजार ५ सय ७७ र बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटाको शालिग्राम बचत तथा ऋण सहकारीको ६ लाख ६ हजार ३ सय ४१ रुपैया गरि १ करोड, ६० लाख, ८७ हजार ५ सय २५ रुपैयाँ इमेज सहकारीमा बचत रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सहकारीको रकम सुरक्षित ढंगले प्रयोग गर्नु पर्नेमा व्याजको लोभमा इमेज बचत तथा ऋण सहकारीमा बचत गर्दा ती सहकारीको रकम जोखिममा परेको हो । यता बागलुङ नगरपालिकाको सहकारी तथा रोजगार प्रबद्र्धन शाखाले इमेज सहकारीमा बचत गरेका सहकारीलाई पत्राचार गरि यस विषयमा विवरण माग गरेको छ ।

सहकारी शाखाले ती सहकारीलाई सस्थाको रकम कुन कानुन अन्तर्गत र कुन प्रयोजनको लागि इमेज सहकारीमा खाता खोली जम्मा गरेको हो त्यसको यर्थाथ विवरण एक साता भित्र बुझाउन निर्देशन दिएको छ ।

इमेज सहकारीमा सहकारीको रकम मात्र नभई विभिन्न विद्यालय, मन्दिर, महिला समूह, क्लव, संघसंस्था, स्मृति कोष, पुरस्कार कोषको रुपैयाँ समेत रहेको पाइएको छ । धेरै जसो विद्यालय, मन्दिर, महिला समूह, क्लव, संघसंस्था, स्मृति कोष, पुरस्कार कोषका रकमहरु कार्यसमितिको निर्णय विना इमेज सहकारीमा राखेको कारण जोखिममा परेको एक स्मृति कोषका संचालकले नयाँ विश्वलाई बताउनु भयो ।

यसै गरि ससाना खुद्रा व्यवसायीदेखि होलसेल व्यवसायी,जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट युवाहरुले पठाएको रेमिटन्स, सेवा निवृत्त शिक्षक, कर्मचारी र बालबालिकाहरुका करौडौं रकम १६ प्रतिशतदेखि १८ प्रतिशतसम्म व्याज पाउने आशमा बचतकर्ताहरुले जम्मा गरेका थिए । धेरै बचतकर्ताहरुले ३ देखी ४ वर्षमा डबल हुन्छ भन्ने लोभमा करोडौं रकम मुद्धति खातामा राखेका थिए ।

इमेज सहकारीमा बचतकर्ताहरुले ससाना रकमदेखि ५ लाख, १० लाख, २० लाख, ४० लाख, एक करोडदेखि ६ करोडसम्म बचत गरेको खुलेको छ ।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका देव कुमार नेपालीले सहकारीको रकम अपचलन गरि काठमाडौं, पोखरा, बागलुङ र बुर्तिवाङमा करौडौं रकम लगानी गरेर किनेका जग्गा र बनाएका घरका कारण बचतकर्ताको रकम जोखिमा परेको हो ।

ती जग्गा र घरहरु पनि अध्यक्ष नेपालीले विभिन्न बैंकहरुबाट कर्जा लिएका छन् ।सहकारीले पोखरा, बागलुङ, गलकोट र बुर्तिबाङ कार्यालयबाट उठाएको अरबौ रकम सहकारीको नियम विपरित प्रयोग गर्दा बचतकर्ताको रकम फिर्ता गर्न नसकेर नेपाली सपरिवर सहित फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्