३ कार्तिक २०८३, सोमबार

 

आँखा पाक्ने रोग बढ्दै गएपछि बागलुङ नगरका विद्यालय बन्द, यो रोगबाट कसरी जोगिने ?

बागलुङ । आँखा पाक्ने रोग फैलिएपछि बागलुङ नगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बागलुङ नगरपकालिकाका मेयर बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शुक्रबार र आइतबार सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण बागलुङ नगरका विद्यालयमा समेत बढ्ेपछि साउन २६ गतेदेखि २८ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले नयाँ विश्वलाई जानकारी दिनु भयो। नेपाल नेत्रज्योती संघ धौलागिरी आँखा अस्पतालका अनुसार बागलुङमा दैनिक ६० देखि ७० जना आँखा पाक्ने समस्याका बिरामीहरु उपचारका लागि आउने गरेको छन ।

तीन चार दिनदेखि आँखा पाक्ने रोगको सचेतना, सरसफाइ र उपचार बारेमा सल्लाह दिने कार्यक्रम नगर स्वास्थ्य शाखाले सुरु गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताउनु भयो ।बागलुङ बजारका विभिन्न विद्यालय गरी करीब ७०, ८० जनाभन्दा बढि विद्यार्थीहरुलाई यो रोग लागेको छ ।

देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ ।इन्टरो भाइरसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । यो रोग सबै उमेर समूहमा देखिएको छ ।

इन्टेरो भाइरसले खासगरी रुघा, खोकी, ज्वरो, एलर्जी र शरीरका विभिन्न अंगमा संक्रमण गराउँछ ।यो रोग हावाबाट सर्दैन ।

आँखाको तरल पदार्थबाट भाइरस ट्रान्समिसन हुन्छ । हातमा संक्रमितको आँसु प¥यो भने त्यहाँबाट सर्छ। आँखा पाक्ने समस्या देखिएका बिरामीले प्रयोग गरेका साबुन, चस्मा, औषधि, रुमाललगायत अर्को व्यक्तिले प्रयोग गर्दा सजिलै सर्न सक्छ ।चिकित्सकका अनुसार यो रोग निको हुन ३ हप्तासम्म लाग्न सक्छ ।

तर, अर्कोलाई सर्न नदिनका लागि सचेत हुनु पर्छ ।विशेषगरी बालबालिकाले आफ्नो सुरक्षा आफैं गर्न नसक्ने भएका कारण पनि यो.रोग छिटो फैलिइरहेको छ । यसको लागि बालबालिकाहरुलाई विद्यालय र परिवारले विशेष ध्यान दिनु पर्दछ ।

लक्षणहरू:

एक्कासि एउटा वा दुवै आँखा रातो हुने,
आँखा धेरै चिलाउने तथा टाँसिने,
आँखाबाट बारम्बार पानी बगिरहने,
कचेरा लाग्ने तथा टाँसिने,
आँसु बगिरहने,
आँखा सुन्निने,
घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देखिने।

आँखा पाकेपछि के गर्ने ?

साबुनपानीले राम्ररी हात धुने,
आँखा सफा राख्ने,
आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,
फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,
दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,
आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,
अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,
आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,
आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ, कहिलेकाहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।
संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,
सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,
कालो चश्माको प्रयोग गर्ने,
स्कूल, कलेज लगायत भीडभाड हुने स्थानमा नजाने।
कसरी गर्ने घरमै हेरचाह ?

यो रोग लागेमा घरमै पनि आँखाको स्याहार गर्न सकिन्छ। जसले गर्दा एक-दुई सातामै आफैं निको हुन्छ।

आँखा बरफले सेक्ने,
सफा पानीले सफा गर्ने,
घरमा बस्दा वा बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने,
संक्रमित आँखालाई छोएपछि राम्ररी हात धुने,
आँखालाई नचलाउने,
अरूले प्रयोग गरेका रुमाल–तौलिया प्रयोग नगर्ने,
आफूखुशी औषधिको प्रयोग नगर्ने,
गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung