१७ बैशाख २०८१, सोमबार

 

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी

बागलुङ । सहकारीका वचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार भएका इमेज सहकारीका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ।

मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । बागलुङ बजारमा मुख्य कार्यालय सहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम हिनामिना गरी फरार भएका हुन्।

मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्। बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको थियो।

सोही आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेर सुनुवाइ भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताउनु भयो । ढोरपाटन–१ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। देवकुमार नेपाली पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले बताउनु भयो ।

मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ मा पत्राचार गरेको थियो।

गत साउन ४ गते इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्