४ जेष्ठ २०८१, शुक्रबार

 

विश्व बैंकको ६० करोड अनुदानमा बागलुङ नगरका तीन सडक कालोपत्रे हुने

बागलुङ। बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका–७ को मूलपानीदेखि तितौरेसम्म साढे ८ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे २ किमि र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमि सडक कालोपत्र गर्न लागिएको हो ।

यसअघि खुलेका ती ट्र्याकमा सडक बनाउँदा किसानलाई स्थानीय उत्पादनको बजारीकरणका लागि सहज हुनेछ । नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ । त्यसका लागि विश्व बैंकले ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो । प्रारम्भिक सर्भेक्षण भएर डीपीआर बनाइरहेको नगरपालिकाको कामको प्रगति हेर्न आएका विश्व बैंकको सहयोग निकायका टिमसहित केन्द्रीय परामर्शदाता, सहरी विकास मन्त्रालयको प्रोजेक्ट को–अर्डिनेटर रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टिम लिडर रितु बस्नेतसहितको टोलीले तीनवटै सडकको स्थलगत अनुगमनसमेत गरेको हो ।

अनुगमनपछि विश्व बैंकको टिमले आगामी मंसिरसम्ममा निर्माणको काम थालेर डेढ वर्षमा सक्नुपर्ने सुझाव दिएको छ । यी सडकहरू ६ देखि ८ मिटर चौडाका हुनेछन् । सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्ने छ । यसअघि विश्व बैंककै सहयोगमा बागलुङको वडा ४ देखि ६ सम्मको झन्डै ७ किमि सडक कालोपत्र भइसकेको छ ।

उक्त सडकले नगरको चक्रपथ निर्माणमा सहयोग पुगेको छ । नगरपालिकाले सबै वडा जोड्ने गरी चक्रपथको अवधारणा ल्याएको छ । वडा १ देखि ७ सम्मको खण्ड ट्र्याकबाट जोडिइसकेको छ भने अधिकांश खण्ड कालोपत्र भइसकेको छ । वडा ८, ९, १० र ११ मा गत वर्षदेखि नै प्रदेश सरकारको साझेदारीमा सडक निर्माण भइरहेको छ । वडा १२, १३ र १४ का लागि पनि छुट्टै योजनाबाट सडक सञ्जालले जोडिएको छ । एकीकृत बनाएर नगरबससमेत चलाउन नगरपालिकाले बनाएको योजनामा दाताले साथ दिएका हुन् ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले नगरसभाले प्राथमिकीकरण गरेका १, २ र ३ नम्बरका सडकमा उक्त लगानी गर्न लागिएको बताउनु भयो । गण्डकी प्रदेश सरकारको ५ करोड लागतमा वडा नं १० को दब्ल्याङ पहिरो नियन्त्रणका लागि पनि तत्काल काम थाल्न लागेको श्रेष्ठले जानकारी दिनु भयो । उक्त पहिरोले बागलुङकै मालढुंगादेखि जैमिनी नगरको कुश्मीसेरा जाने सडक र कालीगण्डकी करिडोरमा क्षति पुगेको छ । वर्षात्मा यो पहिरोले नियमित सडक अवरुद्ध हुँदा करिडोरका यात्री र दक्षिण बागलुङका सयौंले सास्ती खेपेका थिए ।

टोलीले गरेको स्थलगत अध्ययनमा मूलपानीदेखि कालीमाटी जाने सडकमा ६ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने छ । ती स्थानबाट बागलुङ बजारमा नियमित तरकारी आउने गरेकाले सडक स्तरीय हुँदा किसानलाई सहज ढुवानी गर्ने वातावरण तयार हुने वडा नं ४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले बताउनु भयो। नगरपालिकाले भने चालु वर्षकै नीति तथा कार्यक्रम र बजेटमा पनि क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने किसानका लागि भनेर बजेट व्यवस्थापनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्