१७ बैशाख २०८१, सोमबार

 

बागलुङमा निजी डेरीको मनोमानी : दूधमा पुगेन पोषक तत्त्व

बागलुङ । बागलुङ बजारका विभिन्न डेरी पसलमा बिक्री वितरण हुने अधिकांश दूधमा मापदण्ड अनुसारको पोषक तत्त्व  नपुगेको पाईएको छ ।

बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको पहलमा बजारका १५ वटा डेरी पसलबाट लिइएको नमुनामा मापदण्ड अनुसारका खाद्य तथा खनिज तत्व नभएको भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले डेरीहरुबाट लिएको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रयोगशालामा परीक्षण गराएको थियो ।

नगरले नमुना संकलन गरेर परीक्षण गर्न पठाएको अधिकांश दूधमा मापदण्ड नपुगेको पाईएको हो ।डेरी पसलहरुबाट विक्री भैरहेको दूधमा चिल्लो पदार्थ र प्रोटिन लगायतका आवश्यक तत्वहरु तोकिएको भन्दा कमी भएको पाइएको बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनु भयो ।

भैसीको दूधमा चिल्लो पदार्थ ५ प्रतिशत हुनुपर्नेमा जाँच भएकामध्ये ११ वटा पसलमा त्योभन्दा कम चिल्लो पदार्थ भएको दूध विक्री हुने गरेको छ ।

गाईको दुधमा समेत ३.५ प्रतिशत तोकिएको चिल्लो नपाईएको र प्रोटिन लगायतका तत्वहरु कम भएको पाईएको बताउनु भयो।

नगरपालिकाले मापदण्ड नपुगेको दुध विक्री गर्दै आएका डेरी पसल संचालकहरुलाई दुधको गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।

नगर उपप्रमुख तथा नगर अनुगमन समितिका संयोजक राजु खड्कको अध्यक्षतामा बसेको बैठकमा दूधको मूल्यसँगै गुणस्तर नतिजाको रिपोर्ट पसलमा सवैले देख्ने गरी राख्न आग्रह गरिएको छ ।

व्यवसायीको सकारात्मक सन्देश बाहिर जाने गरी व्यवसाय गर्न आग्रह गर्दै बालबालिका, ज्येष्ठ नागरिकदेखि सबै उमेर समूहका नागरिकहरुले दैनिक उपयोग गर्ने दूधको गुणस्तरमा विशेष ध्यान दिन नगर उपप्रमुख खड्काले आग्रह गर्नु भयो ।

सो अवसरमा गुणस्तर मापनमा फ्याट ६.१० प्रतिशत र एसएनएफमा ९ प्रतिशत भएको दूध बेच्ने वलेवा भैरव पशुपालन फर्मलाई सम्मान गरिएको थियो।

दूधको गुणस्तरको विषयमा चौतर्फी गुनासो आएपछि बागलुङ बजारमा सबैभन्दा धेरै दुधको कारोवार गरिरहेको बागलुङ दूध उत्पादक संघको उद्योगमा अनुगमन गरिएको थियो ।

व्यवसायीलाई सचेत गराउन आयोजना गरिएको कार्यक्रममा कारवाही र कानुनी व्यवस्थाको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्