४ जेष्ठ २०८१, शुक्रबार

 

ढोरपाटनमा सम्पन्न महासंघको तेस्रो कार्यकारिणी बैठकद्वारा ९ बुँदे घोषणा पत्र जारी

बागलुङ । प्रचुर संभावना भएर पनि पूर्वाधारका कारण पछाडि परेको बागलुङको ढोरपाटन क्षेत्रको विकासको लागि नेपाल उद्योग वाणिज्य महासंघले काम गर्ने भएको छ ।

सोमबार र मंगलबार ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी बैठकले समग्र पर्यटकीय विकास गरी त्यस क्षेत्रका वासिन्दाको आर्थिक, समाजिक, सांस्कृतिक, विकासमा सघाउ पु¥याउने प्रतिवद्धता सहितको ९ बुँदे घोषणा पत्र जारी गरेको छ ।

घोषणापत्रमा ढोरपाटनमा पर्यटन प्रवर्द्धनका क्रियाकलापमा स्थानीय वासिन्दा र पालिकासँग सहकार्य गरिने उल्लेख छ । साथै स्तरीय होटल तथा रेष्टुरेन्ट, सडक, खानेपानी तथा सूचना प्रविधिमा नीजि क्षेत्रले सहकार्य गर्ने जनाएको हो।

शिक्षा र स्वास्थ्यको अवस्था कमजोर भएको ढोरपाटनमा नीजि क्षेत्रले लगानी गर्ने, होमस्टेको आधुनिकिकरणको लागि महासंघले सीप तथा तालिममा सघाउने गर्ने घोषणापत्रमा उल्लेख छ ।

साथै ढोरपाटनमा प्रचलनमा रहेको मौलिक भाषा र संस्कृतिको संरक्षणमा सघाउने, जैविक विविधताको संरक्षण तथा पर्यावरण रक्षमा उद्योगी व्यवसायीले साथ दिनेछन् ।

यहाँको पशुपालन, कृषि, जडिवुटी, साना तथा मझौला उद्योगको व्यावसायाीकरण र बजारीकरण गर्नको लागि सहयोग गर्ने जनाइएको छ ।

ढोरपाटनमा निर्माण गरिने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना निर्माणमा पहल गर्ने र ढोरपाटन क्षेत्रको विकासमा नीजि क्षेत्रले साझेदारी गर्ने बताईको छ ।

घोषणा पत्र सार्वजनिक गर्न ढोरपाटन शिकार आरक्षको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन शिकार आरक्षको लाभ स्थानिय वासिन्दा लगाएत लगाएत सवैले पाउने गरि नितिगत निर्णय गराउनको लागि पहल गर्ने बताउनु भयो ।

ढकालले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन क्षेत्रको बारेमा विश्वको ध्यान केन्द्रित गर्न मुलुकका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था महासंघले बागलुङको ढोरपाटनमा बैठक आयोजना गरेको बताउनु भयो ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकहरू सिकार खेल्न मात्रै आउने प्रचलन रहेको भन्दै ढोरपाटनमा पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न नीजि क्षेत्रले उत्सुकता देखाएको ढकालको भनाई थियो ।

प्रचुर सम्भावना भएर पनि विकास हुन नसकेको नेपालको एकमात्र सिकार आरक्षको विकासमा नीति क्षेलले लगानी गर्ने घोषणा गर्नु भयो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले नीजि क्षेत्रले पहिलो पटक ढोरपाटनमा गरेको बैठकले ढोरपाटनको विकासमा महत्वपूण अर्थ राख्ने बताउदै नेपाल सरकारको आर्थिक साझेदारको रुपमा रहेको महासंघले यस क्षेत्रको विकासमा देखाएको तत्परताको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, पञ्चकोट धामका अध्यक्ष सुदर्शन बराल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख विरेन्द्र कँडेलले आरक्षको बारेमा जानकारी गराउनु भएको थियो ।

सरकारले विसं २०४२ मा ढोरपाटनलार्य शिकार आरक्षको रुपमा घोषणा गरेपछि आरक्षले हालसम्म गरेका काम र आरक्षको बारेमा जानकारी गराउनु भएको थियो ।

कँडेलले विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्षलाई मुख्य गन्तव्यको रुपमा लिने गरेको बताउनु भयो ।

ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ढोरपाटन नगरपालिकाका कार्यवहाक नगर प्रमुख धन बहादुर कायत र संचालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले गर्नु भएको थियो ।

पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवर्द्धन गर्नका लागि मुलुकका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था महासंघले बागलुङको ढोरपाटनमा बैठक आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकहरू सशकार खेल्न मात्रै आउने प्रचलन रहेकोमा यहाँको पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न नीजि क्षेत्रले उत्सुकता देखाएको उद्योग वाणिज्य संघ बागलुङका वरिष्ठ उपाध्यक्ष राजन शाक्यले बताउनु भयो ।

देशका उद्योगी व्यवसायी सम्मिलत यस बैठकपछि नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको ढोरपाटनको थप विकास हुने आशा सहित बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरिएको थियो। देशभरका निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको छ।

बैठकपश्चात् महासंघको कार्यसमितिमा रहेका सदस्य एवं पदाधिकारीहरूले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गरेका थिए ।

बैठकमा ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिरका साथै समग्र जिल्लाको पर्यटनका विषयमा समेत छलफल भएको थियो ।

ढोरपाटनमा शिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोरबराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालयलगायत ढोरपाटनमा पर्यटकलाई लोभ्याउने अनेकौँ स्थान रहेको बागलुङ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष शशिकपुर श्रेष्ठले जानकारी दिनु भयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्