४ जेष्ठ २०८१, शुक्रबार

 

उद्योगी तथा समाजसेवी पुष्पमान श्रेष्ठको स्मृतिमा असोज २१ गते शोक सभा हुँदै

काठमाडौं । उद्योगी, समाजसेवी, शिक्षासेवी तथा संचार उद्यमी पुष्पमान श्रेष्ठको स्मृतिमा शोक सभा हुने भएको छ ।

धवलागिरी बचत तथा ऋण सहकारी संस्था, धौलागिरि समाज नेपाल र नयाँ विश्वको आयोजनामा असोज २१ गते आइतबार होटल एल्लो प्यागोडा जमल, काठमाडौंमा दिउँसो १ बजे शोक सभा हुने धौलागिरि समाज नेपालका अध्यक्ष केदार नाथ गौतमले जानकारी दिनु भयो ।

श्रेष्ठले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, धार्मिक क्षेत्रमा योगदान दिनु भएको थियो । उहाँले पश्मिनाको उत्पादन, विदेशमा निर्यात र नेपाल पश्मिना उद्योग संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

श्रेष्ठ २०५६ सालमा स्थापना भएको नेपाल पश्मिना उद्योग संघका संस्थापन सदस्य तथा पूर्वअध्यक्ष, नेपाल हस्तकला महासंघको पूर्वकार्यसमिति सदस्य, २०३८ सालमा स्थापना भएको बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष, २०५६ सालमा स्थापना भएको धवलागिरि बचत तथा ऋण सहकारीका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष, एविसि टिभीको संस्थापक अध्यक्ष तथा नयाँ विश्वका पूर्वअध्यक्ष हुनु हुन्थ्यो ।

उहाँले २०४० मा राणा कालमा खुलेको बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासको लागि २ लाखको अक्षय कोष निर्माणको लागि नेतृत्व गर्नु भएको थियो ।

श्रेष्ठ २०६० सालमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउनको लागि काठमाडौं उपत्यकाका आर्थिक संयोजक हुनु भएको थियो ।

ओमप्रसाद र मेघ कुमार वैघको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविका उहाँ सक्रिय विद्यार्थी हुनु हुन्थ्यो । त्यही विद्यालय २०७२ सालको भूकम्पले भत्काएपछि नयाँ भवन निर्माणको लागि विद्यामन्दिर माध्यमिक विद्यालय भवन निर्माण समितिले २०७३ सालमा उहाँलाई काठमाडौं उपत्यकाको आर्थिक संयोजक बनाएको थियो ।

श्रेष्ठले २०२३ सालमा विद्यामन्दिर माविबाट एसएलसी उर्तीण गर्नु भएको थियो ।

उहाँलाई कालिका गाउँ पंचायतका तत्कालिन प्रधानपंच टोप बहादुर विजुक्छेले २०२२ सालमा कालिका कन्या माविमा अनिवार्य निस्शुल्क प्राथमिक पाठशालाको प्रधानाध्यापकको जिम्मेवारी दिनु भएको थियो ।

उहाँले गलकोट, हटियाको गलकोट माध्यमिक विद्यालय र बुर्तिबाङ बजारमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा अग्रेजी विषय पढाउनु भएको थियो ।

उहाँ निर्मल लामा, बसन्त गौचन, टोपबहादुर विजुक्क्षे, चित्रबहादुर केसी, राधेश्याम कमारो, लालचन्द्र राजभण्डारी, हिक्मत गौचन, पद्यचन्द्र राजभण्डारीबाट वामपन्थी राजनीतिमा आकर्षित हुनु भएको थियो ।उहाँ २०६२ सालदेखि नेकपा माओवादी पार्टीसँग नजिक हुनु भएको थियो ।

पंचायत कालमा चित्रबहादुर केसी नेकपा मसाल, बागलुङको सेक्रेटरी भएको बेला पुष्पमान श्रेष्ठ र दीनानाथ शर्मा वामपन्थी राजनीतिमा सक्रिय थिए ।

उनीहरु पंचायती शासकको कडा निगरानीमा थिए । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा पैरवी गरेका श्रेष्ठ तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक भिमसेन थापासँगै काठमाडौं आउनु भएको थियो ।

भिमसेन थापा र उहाँको दाजु प्रेम थापाले श्रेष्ठलाई पश्मिना उद्योग तर्फ अगाडि बढ्न प्रोत्साहित गर्नु भएको थियो । यहि पश्मिना व्यवसायबाट श्रेष्ठले ठूलो आर्थिक उन्नति गर्नु भएको थियो ।

मैले २०६२ सालमा उद्योग व्यापार क्षेत्रको विकास र नीति निर्माणको लागि नेकपा माओवादीको तर्फबाट सांसद बन्नको लागि अनुरोध गर्दा पुष्प दाईले उदारता पूर्वक अस्वीकार गर्नु भएको थियो नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले बताउनु भयो ।

उहाँ पद प्रतिष्ठाको भन्दा पनि देशको विग्रदो राजनीतिक र आर्थिक अवस्थाबाट बढि चिन्तित हुनु हुन्थ्यो शाक्यले भन्नु भयो ।

बागलुङ बजार, गलकोट र बुर्तिवाङमा नेकपा मसालको संगठन निर्माण र वामपन्थी विचारधाराको प्रचारमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो ।

पुष्पमान श्रेष्ठ र श्रीमती लालु श्रेष्ठले बागलुङ नगरपालिका वडा नं ६ पंचकोटमा गण्डकी माताको मन्दिर ६० लाखमा निर्माण गर्नु भएको थियो ।

नेपाली कांग्रेस बागलुङको पूर्वपार्टी सभापति तथा पुष्पमानका अनन्य मित्र हरि प्रसाद श्रेष्ठले श्रेष्ठलाई यसरी सम्झिनु भयो – ‘उहाँ काठमाडौं, बागलुङको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक खम्बा हुनुहुन्थ्यो ।

समाजलाई चाहिएको बेला उहाँ जहिले पनि अगाडि आउने गर्नुहुन्थ्यो । उहाँको मृत्युले देश र समाजलाई अपूरणीय क्षति भएको छ ।’श्रेष्ठलाई गत भदौ २५ गते सोमबार विरामी भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो ।

श्रेष्ठको भदौ २९ गते शुक्रबार साँझ ५ बजे आफनै निवासमा ७४ वर्षको उमेरमा देहावसान भएको थियो । श्रेष्ठ २००६ पुष ५ गते पिता दिपबहादुर श्रेष्ठ र माता लालकुमारी श्रेष्ठको माइला छोराका रूपमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मनु भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्