बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीका विभिन्न ठाउँमा २५ वटा सेवा केन्द्र रहेको सहकारीले १४ औ साधारण सभा अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
बुधवार बागलुङमा आयोजित संचालक समिति, विभिन्न सेवा केन्द्र व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक तथा शिक्षा समितिको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता भूमिश्वर गौतमले कार्तिक १६ गतेबाट मंसिर १६ गतेसम्मको निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनु भएको थियो ।
सञ्चालक समितिको अध्यक्षसहित पदाधिकारी सदस्य तथा विभिन्न उपसमितिको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।तालिका अनुसार मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन जस्ता कार्यक्रम रहेका छन् ।

कार्तिक १६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूची उपरको दाबी–विरोध, १९ गते मतदाना नामसारी, कार्तिक २१ गते अन्तिम नामावली प्रकाशन, कार्तिक २२ विहान ११ बजेबाट ५ बजेसम्म उम्मेदवारी दर्ता, कार्तिक २३ गते उमेद्वारको पहिलो नामावली प्रकाशन र दावी विरोध, २४ गते दाबी–विरोधको छानबिन २६ गते उम्मेदवारी फिर्ता र अपरान्न ३ बजे अन्तिम उम्मेदवारी सूची प्रकाशन र मंसिर १६ गते सबै सेवा केन्द्रमा दिउँसो १ बजेबाट ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।
उम्मेदवारले कार्तिक २६ गतेबाट मंसिर १३ गतेसम्म प्रचारप्रसार गर्न पाउने गरी कार्यतालिका बनाइएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनु भयो । सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले संस्थाको वर्तमान वित्तीय अवस्थाका साथै संस्थाको बारेमा जानकारी दिनु भएको थियो ।
सो अवसरमा संचालक तथा सबै सेवा केन्द्रका संयोजक, शिक्षा उपसमितिका संयोजक तथा सदस्यहरुले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सस्थाका सहसचिव सुवास आचार्यले गर्नु भएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अर्धदैहिक राहत, जेष्ठ नागरिक, एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति,जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, व्रतवन्ध भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिब सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइरहेको छ ।
२०६६ चैतमा २८ जना शेयर सदस्यहरुले सिवाइसी बचत तथा ऋण सहकारी संस्था दर्ता गरी संचालनमा ल्याएको थियो ।




















































































































































































































