५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरद्वारा मेची-महाकाली राष्ट्रिय उद्धार टोलीलाई स्वागत

बागलुङ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्वमेची पूलबाट सुरू भएको मेची-महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टोलीलाई बागलुङ नगरपालिकाले स्वागत गरेको छ ।

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ मंगलबार विहान बागलुङ आइपुगेको हो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले राष्ट्रिय उद्धार टोलीलाई बागलुङ नगरपालिकामा स्वागत गर्दै सडक मानवहरुको उद्धारका लागि संचालित मेची महाकाली अभियान पवित्र मानविय कार्य भएको बताउनु भयो।

कार्यक्रममा आगामी २०८२ भित्र सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएकाले यसलाई सफल पार्न सबैले साथ दिनुपर्ने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आग्रह गर्नु भयो । सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी वेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरुको लागि मानव सेवा आश्रम सहारा बनिरहेको उहाँले बताउनु भयो ।

पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्धार गरी सुरु भएको अभियान महाकालीमा पुगेर समापन गरिने उनले बताउनु भयो। कार्यक्रममा मानवसेवा आश्रमका बागलुङका सञ्चालिका विपना तामाङले मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको टोलीलाई स्वागत गर्दै मानवसेवा आश्रमका बागलुङले गरेको सेवा, उद्धार र पूर्णमिलन र भवन निर्माणको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रमको संचालन बागलुङ नगरपालिकाका अधिकृत भिमसेन पन्तले गर्नु भएको थियो । ‘मेची-महाकाली राष्ट्रिय उद्धार अभियान अन्तर्गत बागलुङ नगरपालिका – २ ऐश्वर्य पार्क नजिकैबाट १ जना, बागलुङ नगरपालिका- ३, चिप्लेटी बसपार्कबाट १ जना र पर्वतबाट ३ जना गरी पाँच जनालाई उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्