१७ बैशाख २०८१, सोमबार

 

देवकुमार नेपालीको वक्तव्य र भिडियोबारे अनुसन्धान अगाडि बढाएका छौं : प्रहरी उपरीक्षक खड्का

बागलुङ । बचतकर्ताहरुको २ अर्ब रुपैयाँ हिनामिना गरी ६ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले जिउधनको सुरक्षा नभएका कारण भाग्नु परेको समाजिक संञ्जाल फेसबुकमार्फत सार्वजनिक भएपछि ठूलो तरंग उत्पन्न भएको छ ।

पीडित बचतकर्ताहरुलाई आफनो व्यक्तिगत घर जग्गा दिएर भएपनि समस्या समाधान गर्न आफू तयार भएको गत कार्तिक ३० गते एक वक्तव्य र भिडियो फेसबुकमार्फत अध्यक्ष नेपालीले सार्वजनिक गर्नु भएको थियो । नेपाली समस्या समाधान गर्न सम्पर्कमा आउन खोजेका हुन या सबै बचतकर्ता मिलेर पुन सहकारी व्युताउने भनेपछि आत्तिएर आफनो सम्पत्ती जोगाउन थप षडयन्त्र रचेका हुन स्पष्ट हुन सकेको छैन् ।

अध्यक्ष नेपालीको वक्तव्यमा कर्मचारी, बचतकर्ता र सरोकारवालाहरुलाई लगाएको आरोपमा कति सत्यता छ त्यस विषयमा छानविन हुनु जरुरी छ । समस्याबाट भाग्नको लागि उलने यो आरोप लगाएको हो भने पीडित वचतकर्ताहरुलाई ठृुलो अन्याय हुने देखिन्छ ।

यस विषयमा इमेज पीडित संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्कीले भन्नु भयो ‘अध्यक्ष नेपालीले समस्या समाधान गर्ने उद्देश्यले आउनु भएमा र पीडित बचतकर्ताहरुको रकम फिर्ता गर्न तयार भएमा आफनो समितिले स्वागत गर्ने तर व्यक्तिगत सम्पत्ती जोगाउने निउमा पीडित बचतकर्ताहरुलाई थप भ्रममा पार्न खोजेको भए त्यसले स्वंय नेपालीलाई नै अपठ्यारोमा पार्ने’ बताउनु भयो ।

‘अध्यक्ष नेपालीले प्रकाशित गरेको वक्तव्य हामीले अध्ययन गर्यौ र भिडियो पनि हेर्यौ, यस विषयमा हामीले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक अनुसन्धान गर्न भनेका छौं भने यसको बारेमा गृह मन्त्रालयमा पनि जानकारी गराएका छौं’ जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नयाँ विश्वलाई बताउनु भयो ।

‘अध्यक्ष नेपाली पीडित वचतकर्ताहरुको रकम फिर्ता दिने उद्देश्यले आउनु भयो भने हामीले सरोकारवाला निकायहरुसँग समन्वय गछौैं’ उहाँले भन्नु भयो । ‘फेसबुकमा आएको वक्तव्य र भिडियोको बारेमा हामीले गम्भीरता पूर्वक अनुसन्धान अगाडि बढाएको र सबै निकायसँग समन्वय भइरहेको’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भयो ।

देवकुमार नेपाली अहिले कहाँ छन् ? उनले कहाँबाट यो वक्तव्य प्रकाशित गरेको हो ? थाहा हुन सकेको छैन । केहि मानिस उनको सम्पर्कमा भएको भनिए पनि यस विषयमा प्रष्ट कुरा बाहिर आएको छैन् । फरार नेपालीको विषयमा लामो समय हुँदा पनि प्रहरीको खोज अनुसन्धानले ठोस नतिजा निकाल्न नसक्दा बचतकर्ताहरु निरास भएको बेला नेपालीको वक्तव्य र भिडियोले आशा पलाएको छ ।

अब प्रहरी प्रशासनले यस विषयमा गहन अनुसन्धान गरी नतिजा दिने गरी काम अगाडि बढाउनु पर्ने देखिन्छ । नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

त्यसपछि १ हजार ५ सय ३६ जना बचतकर्ताले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित ११ जना संचालकहरु विरुद्ध १ अर्ब ५१ करोड हिनामिना गरेको भन्दै १ अर्ब ३० करोड विगो दाबी गरेर जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेका थिए ।

बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोकालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

इमेज पीडित संघर्ष समितिले सञ्चालकको पक्राउ र बचत फिर्ताको माग गर्दै विगत ६ महिनादेखि आन्दोलन गर्दै आएको छ।

फरार हुन सक्ने अनुमान गरी सहकारीका संस्थापन अध्यक्ष नेपालीसहित, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा समेत रोक लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई पत्राचार गरेको थियो । तर प्रहरी, प्रशासन र गृह मन्त्रालयले खोज अनुसन्धानलाई तीब्रता दिएको भने पनि ६ महिना वित्दा पनि अध्यक्ष नेपाली पक्राउ पर्न सकेका छैनन् ।

फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली भन्छन् : मेरो ३ अर्ब पर्ने १८ वटा घर र ४४ कित्ता जग्गा छ https://www.nayabishwo.com/2023/11/21/127279

काठमाडौँ । बचतकर्ताहरुको २ अर्ब रुपैयाँ हिनामिना गरी ६ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुृमार नेपालीले समाजिक संञ्जाल फेसबुकमार्फत जिउधनको सुरक्षा नभएका कारण भाग्नु परेको बताएका छन् ।

गत कार्तिक ३० गते एक वक्तव्य र भिडियो आफनो फेसबुकमा प्रकाशित गरी आफनो र आफनो श्रीमती छेला नेपाली, छोरी कर्मा नेपालीलाई हतियार सहित आएर ज्यान मार्ने धम्की आएकोले सुरक्षाको कारण केहि समय सम्पर्क विहिन हुन बाध्य भएको वक्तव्यमा उल्लेख छ ।

नेपालीले आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै आफू ढोरपाटन नगरपालिकाको काममा व्यस्त हुँदा कर्मचारीले ठिक ढंगले सहकारी नचलाएको आरोप लगाएका छन् । इमेज सहकारीमा बचतकर्ताहरुले भनेजस्तो पुरै डिपोजिट नभएको र करोडौ डिपोजिट रहेको बताएका बचतकर्ताले कर्जा मार्फत अधिकाशं रकम फिर्ता लगिसकेको समेत उनले बताएका छन् ।

नेपालीले इमेज पीडित संघर्ष समितिले गर्नु परेको संघर्ष र दुखको लागि धन्यवाद दिदै सबै निवेदकले दिएको जाहरीमा सत्यता नभएको र खातामा १० हजार हुनेले दश लाखको समेत दाबी गरेको र कर्जा लगेका कतिपय ऋणिले कर्जा नलगेको भनेर अटेर गरेको उनले आरोप लगाएको छ ।

साथै उनले आफूले बागलुङ, कास्की र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा जस्को हालको मूल्य ३ अर्ब हुन आउने सम्पत्ति जोडेको दाबी गर्दै उक्त सम्पत्ति सहकारीको पैसाले नकिनेको दाबी गरेका छन् ।

उनलाई असफल बनाउन राजनीति पनि भएको र त्यसको विषयमा आफूले पछि खुलासा गर्ने वक्तव्यमा उल्लेख छ ।अध्यक्ष नेपालीले यो वक्तव्य कहाँबाट निकालेको हो र उनी कहाँ छन् भन्ने बारेका अझसम्म केहि थाहा हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्