२८ बैशाख २०८१, शुक्रबार

 

मातृभुमि बहुउद्देश्यीय सहकारीको १५ औं साधारणसभा सम्पन्न, नाफा ७ लाख

बागलुङ । मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न भएको साधारणसभाको उद्घाटन बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर श्रेष्ठले सहकारीको शेयर सदस्यहरुको आर्थिक र सामाजिक उत्थानका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो।

सहकारीले छरिएर रहेको पैसालाई जम्मा गरी शेयर सदस्यहरुको आर्थिक विकास गर्ने उद्देश्यसहित सेयर सदस्यलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने, साना व्यवसायीलाई प्रोत्साहन गर्ने काम गर्दै आएकोले मातृभुमि सहकारीको पृथक पहिचान भएको श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा सल्लाहाकारहरु प्रा. डा. राम प्रसाद उपाध्याय, भवनराज बराल, पत्रकार कोपिला कँडेल, कार्यसमिति सदस्य टिकाराम सापकोटा र मातृभुमि बहुउद्देश्यीय सहकारीका अध्यक्ष गुणराज पौडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहकारीका सचिव रामप्रसाद शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरि प्रसाद आचार्य र लेखा समितिका संयोजक सुरेन्द्र प्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

 

कार्यक्रममा जेष्ठ सेयर सदस्य श्रीमती नरमाया छन्त्याल, कक्षा १२ उत्र्तीण गरेकी मेघना शर्मा र सम्पदा आचार्यलाई, उत्कृष्ठ वालबचतमा आरध्या अर्याल, सुशिल, सुमित र सुजित चौधरी, असल ऋणिमा राम प्रसाद आचार्य, मनोज राज शर्मा, टेक बहादुर थापा, सुगम केसी, दिर्धकालिन बचतमा गिता शर्मा, चल्ती बचतमा देवेन्द्र प्रसाद शर्मा, बचतकर्तामा विदेश कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

३ सय ७६ जना सेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी २ करोड ४८ लाख ६२ हजार ७ सय रहेको छ ।सहकारीको निक्षेप ७ करोड ७३ लाख ९८ हजार १ सय १३ रुपैयाँ रहेको छ भने कर्जा लगानी ९ करोड ६७ लाख ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।

साथै सहकारीको आम्दानी ७ लाख ८८ हजार ९ सय ६२ रुपैया रहेको छ । कार्यक्रम मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, उपाध्यक्ष केदारनाथ पौडेलको स्वागत र सचिव राम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०६५ सालमा ४५ जना शेयर सदस्यहरुको पहलमा बागलुङ बजार २ धौलागिरि चोकमा मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो । यस सहकारीले पाँच जना युवालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्