१६ बैशाख २०८१, आईतवार

 

शिवशिखर सहकारी घोटाला प्रकरण : पक्राउ परेका चार सञ्चालकलाई कञ्चनपुर ल्याइयो

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुको रकम हिनामिना गरि पक्राउ परेका चारजना सहकारीका सञ्चालकलाई कञ्चनपुर ल्याइएको छ।

बचतकर्ताहरुले सञ्चालकलाई ठगीमा उजुरी दिएपछि सञ्चालक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी पक्राउ परेका थिए ।

सहकारीको ठगी प्रकरणमा पक्राउ परेका सञ्चालकहरूलाई कञ्चनपुरस्थित सहकारीको शाखा कार्यालयहरू महेन्द्रनगर, त्रिभुवनबस्ती, बेलौरीका बचतकर्ताबाट आएको उजुरीका आधारमा प्रहरीले कञ्चनपुर ल्याएको हो। महेन्द्रनगर, त्रिभुवनबस्ती, बेलौरीका बचतकर्ताबाट आएको उजुरीका आधारमा उनीहरूलाई जिल्ला झिकाएर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कञ्चनपुरमा उक्त सहकारीले करोडौँ रकम हिनामिना गरेको प्रहरीमा उजुरी परेको थियो। तीन हजार ६७१ बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ ठगी भएको प्रहरीमा निवेदन दिएको छ। सहकारीका तीनै शाखा कार्यालय अहिले बन्द भएका छन्।

गत असारमा बचतकर्ताहरुको अरबौं ठगेर भागेका शिव शिखर बहुउद्देश्य सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीलेले भारतबाट पक्राउ गरेर ल्याएको थियो । त्यस अघि नै सहकारीका सञ्चालकहरु पुष्कर मल्ल र अमिस राजभण्डारी तथा सो संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मालाई प्रहरीले पक्राउ गरि सकेको थियो ।

प्रहरीले १० जनाविरुद्ध सरकारी वकिलमार्फत भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।भक्तपुरका एक हजार चार सय ३९ जना बचकर्ताहरुले ७५ करोड ३२ लाख रुपैयाँको सिआइबीमा जाहेरी दिएका थिए ।

शिव शिखर सहकारीको ३५ जिल्लामा शाखा रहेको र एक लाखभन्दा धेरै बचतकर्ताहरुको करिब १४ अर्ब रुपैयाँ संचालकहरुले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।

सहकारी विभागले गत फागुनमा निर्णय गर्दै सो सहकारी संस्थाका सञ्चालक समितिसदस्यहरु, निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, निजकी श्रीमती गीता शर्मा र व्यवस्थापक लिलानाथ गौतमका सम्बन्धमा सहकारी ऐन २०७४ को दफा १२९ बमोजिम अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरालाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्