१६ बैशाख २०८१, आईतवार

 

सिगाना गाउँमा बोटबाटै २ करोडको सुन्तला बिक्री

बागलुङ । हिजोसम्म सुन्ताला बिक्री वितरणको लागि बजार खोज्नु पर्ने बागलुङ नगरपालिका सिगाना गाउँका किसानलाई सुन्तला खरिद गर्ने व्यापारी गाउँमै पुगेपछि बिक्रीको लागि बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

बागलुङ नगरपालिका–८ सिगाना गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै २ करोडको सुन्तला बिक्री भएको छ । विसं २०३७ बाट बागलुङ नगरपालिका सिगानामा शुरू भएको सुन्तला खेतीबाट वार्षिक २ करोड रूपैयाँ भित्रिन थालेको छ ।

धान, मकै, कोडो लगायतका अन्नबाली छाडेर यहाँका किसानहरू सुन्तला खेती तर्फ आकर्षित हुन थालेपछि सिगानालाई सुन्तला पकेट क्षेत्र बनाउनुपर्ने माग समेत हुन थालेको छ ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ६० मा किनेको किसान टोपबहादुर खड्काले बताउनु भयो ।बागलुङको सिगाना यतिबेला सुन्तला गाउँले चिनिन थालेको छ ।

गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना यतिबेला गाउँ भरि सुन्तला लहलह पाकेको छ ।सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँमा सुन्तला खेती अहिले बढ्दै गएको छ । बुबाले गरेको सुन्तला खेतीलाई जागिरबाट रिटायर भएपछि २०७१ सालबाट यही पेशामा लागेको किसान अनन्त खड्काले बताउनु भयो ।

बागलुङको सुन्तला अन्यत्र ठाउँको भन्दा राम्रो र गुलियो भएको कारणले यहाँको बगैंचाबाट खरिद गरेर पोखरा, चितवान र काठमाडौं लग्ने गरेको व्यापारीको भनाइ छ । जस्ले गर्दां सिगानामा सुन्तला खेती तर्फ थप किसानहरू आकर्षिक भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनु भयो ।

सुन्ताला खेती आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला खेती गर्ने किसानको सङ्ख्या क्रमशः बढ्दो छ । विरुवा थप्दै जाने र उत्पादन लिने क्रम पनि बढीरहेको छ । सुन्तला गाउँका झण्डै डेढ सय किसान सुन्तला खेतीमा लागेका छन् ।

अन्नबाली भन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सिगानासँगै विहुँ, तित्याङ, करिना, दमेक लगायतका ठाउँ सुन्तला खेतीका लागि ‘पकेट’ मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्