पोखरा । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका तत्कालीन सहकारी रजिस्ट«ार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी भएको छ ।
कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख घुस लिएको आरोप
पोखरा महानगरपालिका ९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
पूर्वरजिस्ट्रार पराजुली फरार
बैंकिङ कसुरमा पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई एक करोड ५ लाख रुपैयाँ घुस दिएको बयानका आधारमा गण्डकीका तत्कालीन सहकारी रजिस्टार पराजुलीलाई पक्राउ पुर्जी जारी भएको हो । पराजुली अहिले फरार छन् ।
कार्तिक ४ गते अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारी पक्राउ
गत कात्तिक ४ मा पक्राउ परेका अध्यक्ष पौडेर र प्रबन्धक अधिकारी पक्राउ परेका थिए । सहकारीले बचतकर्ताको २६ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।अहिलेसम्म करिब ८ सय जनाले बचत रकम दाबी गर्दै जाहेरी दिएका छन् । पराजुली करिब २ वर्ष प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराको जिम्मेवारीमा थिए ।
२०७९ भदौमा उनी रजिस्ट्रारबाट सरुवा भएर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा गएका थिए । यही मध्य मंसिरमा कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका थिए। उनी ४ दिनअघि परीक्षा दिन काठमाडौं जान भनेर हिँडेको कुश्मा नगरपालिकाले जनाएको छ ।
४० लाख घुस लिएको आरोप लागेका राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख घिमिरे फरार
यसैगरी तत्कालीन राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा प्रमुख सन्तोष घिमिरेले पनि ४० लाख रुपैयाँ घुस लिएको उनीहरुले बयान दिएका छन् । सहकारी बैंक लिमिटेडबाट ४ करोड ऋण लिँदा ४० लाख रुपैयाँ दिएको बयानपछि घिमिरेलाई पनि पक्राउ पुर्जी जारी भएको छ । अहिले राष्ट्रिय सहकारी बैंक लिमिटेड तनहुँ शाखा प्रमुख रहेका घिमिरे पनि पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।
मिल मिलन सहकारीका २७ जना संचालक फरार
सञ्चालक समिति सदस्य गोपाल खनाल, वुद्धिसागर पौडेल र राजु बराल पक्राउ परेका छन् ।
पक्राउ पुर्जी जारी भएर फरार रहेका पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्वलेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायत २७ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



















































































































































































































