१६ बैशाख २०८१, आईतवार

 

निलगिरि सहकारी बलेवा भैरव सदस्य सेवा केन्द्रको साधारणसभा सम्पन्न

बागलुङ । निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको बलेवा भैरव सदस्य सेवा केन्द्रको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ नगरपालिका-१३ पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र विस्तारसँगै १६ औं वार्षिक साधारणसभा पैयुँपाटामा सम्पन्न गरेको छ ।

साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नं १३ पैयुँपाटाका वडा अध्यक्ष एवं सेवा केन्द्रका सल्लाहकार नारायण शर्मा पौडेलले सहकारी सबै वर्गको साझेदारी संस्था रहेको बताए । उनले पछिल्लो समयमा केही सहकारीले कारोबार विगारेको कारण राम्रो गरेका सहकारीलाई पनि यसको प्रभाव परेको बताए ।

पौडेलले सबै सहकारीमा यस्तो समस्या नरहेका कारण आम शेयर सदस्यले ढुक्क भएर कारोबार गर्नका निम्ति आग्रह गरे । कार्यक्रममा निलगिरि सहकारीका अध्यक्ष नारायण पौडेलले सहकारीमा कुनै समस्या नरहेको बताए ।

उनले  सहकारी कुनै एक व्यक्ति विशेषले नभएर सामुहिक रुपमा संचालन गरेको सहकारी भएका कारण कुनै समस्या नरहेको बताए । पौडेलले अहिलेको अवस्थामा पनि आफ्नो शेयर सदस्यहरुको सहजताका लागि सेवा विस्तार गर्दै पैयुँपाटामा सदस्य सेवा केन्द्र संचालन गरेको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, त्रिभुवन मावि पैयुँपाटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थाका शेयर सदस्य डा रामबहादुर केसी, बलेवा सामुदायिक सहकारीका अध्यक्ष उमानाथ शर्मा, समाजसेवी रेशमबहादुर खत्रीले अहिलेको परिस्थितिमा पनि निलगिरी सहकारीले आफ्नो सेवा केन्द्र विस्तार गरी प्रदान गरेको सेवालाई प्रशंसा गरेका थिए ।

निलगिरि बचत तथा ऋण सहकारीले गत बैशाखदेखि पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । संस्थामा हाल १ हजार २ सय २८ जना शेयर सदस्य रहेका छ ।

संस्थाको हाल ३ करोड ७९ लाख ३४ हजार ८ सय शेयर पुँजी रहेको छ भने हालसम्म १ अर्ब ४९ करोड, ७२ लाख ८२ हजार २२० रुपैयाँको कारोबार गरेको छ । साधारणसभामा कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन, सचिव मिनबहादुर केसीको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रम बलेवा भैरव सदस्य सेवा केन्द्रका संयोजक एकनाथ रेग्मीको अध्यक्ष सहसंयोजक रुद्र पौडेलको स्वागत र सचिव मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो । सहकारीले यही पौष १४ गते शनिबारका दिन बागलुङ बजारमा १६ औं वार्षिक साधारणसभा हुँदैछ ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्