२४ बैशाख २०८१, सोमबार

 

मसँग बचत फिर्ता गर्ने नगद छैन, सम्पत्ती बेचेर फिर्ता गर्छु, सहयोग गर्नुस : देवकुमार नेपाली (वक्तव्यसहित)

काठमाडौं । बचतकर्ताहरुको २ अर्ब रुपैयाँ हिनामिना गरी ८ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले एक वक्तव्य प्रकासित गरि सबै सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न तयार भएको बताएका छन् ।

गत माघ १९ गते एक वक्तव्य प्रकाशित गरि आफनो र आफनो श्रीमती छेला नेपालीको नाममा रहेको सबै सम्पत्ती दिन तयार भएको, त्यसको लागि वातावरण बनाई दिन सरोकारवालालाई सहयोगको गर्न अनुरोध गरेका छन् ।

नेपालीले आफ्नो सम्पती पोखरा, काठमाडौं, बागलुङ र गलकोटमा रहेको भन्दै आफूसँग नगद रकम नभएकोले तत्काल बचतकर्तालाई भुक्तानी दिन केहि समय गाह्रो हुने भएकोले त्यसको लागि सबैले सहयोग गर्नु पर्ने त्यसको लागि सहकारी विभाग, सहकारी रेजिष्ट्रार कार्यालय, अदालत, प्रहरी तथा प्रशासनले वातावरण बनाई दिनु पर्ने वक्तव्यमा उल्लेख छ ।

त्यसै गरि सहकारीबाट कर्जा लगेका ऋणिहरुले ऋण असुलीमा पनि सहयोगको आव्हान गरेका छन् । साथै उनले आफनो बागलुङ,बुर्तिबाङ, कास्की र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा जस्को हालको मूल्य ३ अर्ब बराबरको सम्पत्ति रहेको र सम्पत्तीको विवरण समेत वक्तव्यमा उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालीले यो वक्तव्य कहाँबाट निकालेको हो ? उनी कहाँ छन् भन्ने बारेका अझसम्म केहि थाहा हुन सकेको छैन् ।

गत कार्तिक ३० गते नेपालीले एक वक्तव्य र भिडियो आफनो फेसबुकमा प्रकाशित गरी आफनो र आफनो श्रीमती छेला नेपाली, छोरी कर्मा नेपालीलाई हतियार सहित आएर ज्यान मार्ने धम्की आएकोले सुरक्षाको कारण केहि समय सम्पर्क विहिन हुन बाध्य भएको वक्तव्यमा उल्लेख गरेका थिए ।

देवकुमार नेपाली अहिले कहाँ छन् ? उनले कहाँबाट यो वक्तव्य प्रकाशित गरेको हो ? थाहा हुन सकेको छैन ।

केहि मानिस उनको सम्पर्कमा भएको भनिए पनि यस विषयमा प्रष्ट कुरा बाहिर आएको छैन् । फरार नेपालीको विषयमा लामो समय हुँदा पनि प्रहरीको खोज अनुसन्धानले ठोस नतिजा निकाल्न नसक्दा बचतकर्ताहरु निरास भएको बेला नेपालीको वक्तव्य आएको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

 

 

प्रतिक्रिया दिनुहोस्