२४ बैशाख २०८१, सोमबार

 

रवि लामिछाने र दिपेश पुन विरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी

कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, माओवादी नेता दीपेश पुनसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

पोखरा ४ को सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप अनुसन्धान सुरु भएको हो ।

कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी आएपछि थप अनुसन्धान थालिएको जनाए । पूरक जाहेरी पुरानै मिसिलमा थपेर अनुसन्धान लागिएको प्रहरीले जनाएको छ ।

सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी दिएका हुन् ।

सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने उनीहरुले माग छ । पीडितले थप १४ संस्थाहरु विरुद्ध पनि जाहेरी दिएका छन् ।

सूर्यदर्शन सहकारी ठगी कान्डमा यसअघि १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

तीमध्ये चार जना पक्राउ परेका छन् भने बाँकी फरार छन् । अब यो विषयमा अनुसन्धान गरी पूरक प्रतिवेदन तयार गर्ने र दोषी पाइएमा सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा पेश गरिनेछ ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भवीश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

इन्टरपोलले माघ १२ गते सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरिसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्