बागलुङ । बागलुङ नगरपालिकाले कुकुरका राख्नको लागि होस्टेल बनाउने भएको छ ।
बागलुङ नगरपालिकाले गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको साझेदारीमा यो कार्यक्रम सुरु गर्न लागेको हो ।
‘नगरको नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत बजारका छाडा कुकुरको नियन्त्रण र व्यवस्थापनका लागि एक करोड लागतमा कुकुर होस्टेल सुरु गर्न लागिएको’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।
‘विगत लामो समयदेखि नगरवासीले सामुदायिक कुकुर व्यवस्थापन गर्न ढिलो भएको गुनासो थियो, त्यसैले होस्टेल बनेपछि सहरी क्षेत्रमा छाडा कुकुर व्यवस्थापन हुनेछन्’ कँडेलले भन्नु भयो ।
चालु वर्षभित्रै कुकुर होस्टेल बनेर सञ्चालनमा आउने छ ।
बागलुङ नगरपालिका – १३ को कालाखोलामा होस्टेल बनाइने भएको नगरपालिकाले जनाएको छ। होस्टेलका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपैयाँ बेहोर्ने सम्झौता भएको छ ।
‘सडकका छाडा कुकुरले सर्वसाधारणलाई टोक्ने घटनामा वृद्धि भएपछि कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो कार्यक्रम ल्याएको’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनु भयो ।
‘बागलुङ बजारका सडकमा छाडा छाडिने कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेपछि तत्काल यो समस्याको समाधान गर्न हामीले अग्रसरता लिएको’ श्रेष्ठको भनाई थियो ।
छाडा कुकुरबाट बढीजसो पैदल यात्रु, विद्यार्थी, जेष्ठ नागरिक, मर्निङवाकमा निस्कनेहरू, अनि मोटरसाइकल चालकहरू पीडित छन् । यिनै कुकुर सवारी दुर्घटना र रविज रोगको कारकसमेत बनिरहेको थियो ।
नगरको गत असारमा ल्याएको नीति कार्यक्रममा कुकुरको व्यवस्थापन गर्ने उल्लेख थियो ।
नगरले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङसँगको सहकार्यमा चोक, चोकबाट छाडा कुकुर उठाएर बन्ध्याकरण र खोप पनि लगाएर होस्टेलमा राख्ने भएको छ ।
नगरले घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान समेत बनाएको छ भने कुकुरका लागि चाहिने सबैखाले औषधि पनि निःशुल्क गरिएको छ ।
दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नगरपालिकाले सबै कुकुरको तथ्यांक राख्ने मृत्युपछि लगत कट्टा गर्ने व्यवस्था पनि गरेको छ ।






























































































































































































