१६ बैशाख २०८१, आईतवार

 

सहकारीलाई कर्जा असुलीमा समस्या भएपछि ऋणीलाई धार्मिक शिक्षा दिइने

बागलुङ । ऋणीहरुले समयमा साँवा व्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले ऋणीहरुको सचेतनाका लागि सहकारी पुराणको योजना सार्वजनिक गरेको हो ।

‘पुराणहरुमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अव हामीले सहकारी पुराणमार्फत् सहकारी शिक्षा प्रदान गर्ने योजनामा छौं,’ अध्यक्ष चण्डीप्रसाद शर्माले भन्नुभयो  ‘चलेका पण्डितहरु बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।’

सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

सहकारी पुराण कुनै धार्मिक कार्यक्रम भन्दापनि सहकारी शिक्षाको कार्यक्रम हुने शर्माले दावी गरे । पुराणमा सहभागिताका लागि ऋण नतिर्नेहरुलाई बोलाइने छ भने अन्य शेयर सदस्यहरुलाई पनि सहभागिता गराइने छ ।

‘सहकारी पुराणले ऋण नतिर्नेहरुलाई सद्बुद्धि दिने छ,’ शर्मा भन्नुहुन्छ ‘नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतना मार्फत् नै ऋण भुक्तानीको बाटो खोजेका हौं ।’

सहकारी संस्थाबाट लिएको ऋण तिर्नुपदैन् भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै शर्माले कुनै एक शेयर सदस्यले लिएका ऋण अरु सयौं शेयर सदस्यको बचत भएकाले नतिरेर सुख नपाउने बताउनुभयो ।

सहकारीले ऋण असुलीको नयाँ विधिसँगै बचतको नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ । शेयर सदस्यमा बचत गर्ने बानी विकास गर्नका लागि यो वर्ष संकल्प क्रमिक बचत कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष शर्माले बताउनुभयो।

न्यूनतम दश लाख पुग्नेगरी न्यूनतम ५ वर्षदेखि २० वर्षसम्मको संकल्प बचत गर्न चाहनेलाई यो योजनामा सहभागि गराइने उहाँले बताउनुभयो। न्यून आए भएका शेयर सदस्यहरुले मासिक बचत गर्ने संकल्प गराएर यो बचत सुरु गर्दा उनीहरु धनी बन्ने बाटो खुल्ने शर्माले दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्