६ कार्तिक २०८३, बिहीबार

 

वित्तीय सुशासन जोखिम मूल्यांकनमा बडिगाड गाउँपालिका जिल्लामै उत्कृष्ट

बडिगाड । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा बागलुङको बडिगाड गाउँपालिका जिल्लामै उत्कृष्ट भएको छ । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै गाउँपालिका जिल्लाका १० स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको हो ।

जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा आर्थिक वर्ष २०७९ र ०८० मा ७५ प्रतिशत अंक प्राप्त गर्दै बडिगाड गाउँपालिका जिल्ला प्रथम भएको हो ।

बडिगाडले कुल १०० पूणरङ्क मध्ये योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन १७, कार्यान्वयन क्षमता व्यवस्थापनमा २४, लेखाङ्कन प्रतिवेदनमा १५, अनुगमन, मूल्याङ्कन तथा लेखा परीक्षणमा ९ र राजस्व व्यवस्थापनमा १० अंक तथा समग्रमा ७५ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला समन्वय समितिले मूल्यांकन गरि अन्तिम नतिजा प्रकाशन गरेको हो ।

आर्थिक वर्ष २०७८ र ०७९ मा गाउँपालिका ५४ प्रतिशत अंक प्राप्त गर्दै नवौँ स्थानमा थियो । गाउँपालिकाले १ वर्षको अवधीमा आफुलाई सुधार गर्दै जिल्लामै उत्कृष्ट बन्न सफल भएको हो ।

सो मूल्यांकनअनुसार जिल्लाको बरेङ गाउँपालिकाले ७० अंक, जैमिनी नगरपालिकाले ६९.५० अंक, ताराखोला र काठेखोला गाउँपालिकाले समान ६८ अंक, बागलुङ नगरपालिकाले ६७ अंक, तमानखोला गाउँपालिकाले ६६.५० अंक, गलकोट नगरपालिकाले ६६ अंक, निशिखोला गाउँपालिकाले ५१.५० अंक र ढोरपाटन नगरपालिकाले ४९ अंक प्राप्त गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको छ । बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले आगामी आवमा अझ राम्रो अंक आउने गरि काम गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको अथक मेहनत र प्रयासका कारण जिल्लामै उत्कृष्ट हुँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

यो मूल्यांकन पालिकाहरुले अघिल्लो आर्थिक वर्षमा गरेका वित्तीय सुशासन र सदाचारीको आधारमा गरिएको हो ।

यसका लागि मूल्यांकनका विषय क्षेत्रमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन रहेका छन् । यिनै विषयलाई अंकभार दिँदा सबैभन्दा बढी भएपछि बडिगाड गाउँपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung