१६ बैशाख २०८१, आईतवार

 

जैमिनी नगरपालिकाको दोस्रो चौमासिकसम्म ४१ प्रतिशत खर्च

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा पालिका स्तरीय दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सर्कुवामा मंगलबार सम्पन्न भएको छ ।

स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि जैमिनी नगरपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रालिको सहजिकरणमा सार्वजनिक सुनुवाई भएको हो ।

सार्वजनिक सुनुवाईमा हालसम्म नगरपलिकामा चालु आर्थिक वर्षमा सञ्चालित ४१२ योजना फरफारक गरिसकेको, चालु तर्फ रु  ५१ करोड बजेटमा रु २३ करोड खर्च भएको, पुँजीगत बजेट तर्फ रु २३ करोड मध्ये रु ७ करोड ५० लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलले जानकारी दिए ।

समग्रमा नगरपालिकाको कुल बजेटमा हालसम्म ४१ प्रतिशत बजेट खर्च भइसकेको भनाई छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका शिक्षकको दरबन्दी मिलान नगरेको, बाँदर आतंकले उठिबास लगाएको, खानेपानीको समस्या भएको, योजना छनौटमा एकरुपता नभएको, टुक्रे योजना ल्याएको, विकासका नाममा सडकले विनास ल्याएको लगायतका गुनासो नागरिकबाट उठेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय होमनाथ पौडेल, पूर्वगण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, प्रभाकर पौडेल, तिल प्रसाद शर्मा लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

नगरपालिकाले सहकारीको नियमन गर्न, खानेपानीको दिर्घकालिन योजना ल्याउन, सडक सुधार गर्न, बाँदर नियन्त्रण गर्न र विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी थप गर्न माग राखेका थिए । ।

कार्यक्रममा जनताको गुनासो चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर भुजेल तथा विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

जनताको प्रश्नको जवाफ दिर्दै नगरप्रमुख नरबहादुर पुनले जनताको नगरपालिका प्रतिको अपेक्षा बाहिर ल्याउनका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउँदै जनतालाई नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रम बुझाउन आवश्यक रहेको बताए ।

नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई काम प्रति थप जिम्मेवार बनाउने र आगमी दिनमा सुधार गर्न सकिने बताए । उनले अघिल्लो सार्वजनिक सुनुवाईमा उठेका जनताको प्रश्नको हल गर्न आफूले प्रयास गरेको बताए ।

नगर उपप्रमुख हरिहर शर्माले नगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाएको बताए ।

उनले अनुगमनका सबै संयन्त्र परिचालन गरिएको बताउँदै नागरिकको प्रश्नले थप जिम्मेबार बनाउने भन्दै सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले टिप्पणी गरेका थिए ।

पत्रकार नवराज परियारले सार्वजनिक सुनुवाईको आचार संहिताको विषयमा जानकारी गराएका थिए भने पत्रकार डम्मर बुढा मगरले नागरिकको सन्तुष्टी सर्वेक्षण प्रस्तुत गरेका थिए ।

जैमिनी नगरपालिका वडा न २ का वडा अध्यक्ष तथा सुशासन समितिका संयोजक प्रेम सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाको सहजिकरणमा सम्पन्न भएको थियो ।

ईपरिन्युजबाट

 

प्रतिक्रिया दिनुहोस्