१७ बैशाख २०८१, सोमबार

 

६७ औँ राष्ट्रिय सहकारी दिवस बागलुङमा पनि मनाइयो

बागलुङ । बागलुङमा ६७ औँ राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाइएको छ ।‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ भन्ने मुल नाराका साथ बागलुङ बजारमा भव्यताका साथ सहकारी दिवस मनाइएको हो ।

बागलुङ नगरपालिका र जिल्ला सहकारी संघ बागलुङको संयुक्त आयोजनामा मनाइएको ६७ औँ सहकारी दिवस ¥याली सहित बागलुङ बजार परिक्रमा गरि मनाइएको थियो ।

बागलुङ बजारको समिक्षालय चोकबाट सहकारीकर्मीहरुको हात हातमा नारा, व्यानर, प्लेकार्ड सहित शुरु गरिएको ¥याली बागलुङ बजार परिक्रमा गरी राधाकृष्ण मन्दिरको सभाहलमा पुगेर मूलसभामा परिणत भएको थियो । ६७ औँ सहकारी दिवस तीन दिनसम्म भव्यताका साथ मनाइएकोमा चैत २० गते मुल समारोह गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले बताउनुभयो ।

राष्ट्रिय सहकारी दिवसको मूल समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारीहरु उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । उहाँले बचत तथा ऋणसँगै सदस्यलाई उद्यमसँग जोड्नु पर्ने बताउदै नियमनमा चलेका सहकारी नविग्रने बताउनुभयो ।

“सहकारी नियम अनुसार चल्नुपर्दछ नत्र समस्या हुन्छ, सबै सहकारी शिव शिखर र इमेज जस्ता हुँदैनन्, असल नियत भएका सहकारीहरु सक्षमताका साथ अगाडि बढेका छन्” थापाले भन्नुभयो “सहकारी दिवसमा जुन उत्साह देखिएको छ यो सहकारी अभियानका लागि सकरात्मक सन्देश हो, सहकारी उद्यमशिलता र रोजगारीसँग जोडिने हो भने देशको आर्थिक मेरुदण्ड बन्नेछ ।”

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, नेफ्स्कुनका निर्वतमान सञ्चालक चण्डीप्रसाद शर्मा, बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष कोपिला मणि शर्मा, जिल्ला सहकारी संघका सञ्चालक लिला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलको स्वागत तथा बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्