गैडाकोट । सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको पाच वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी तथा नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवासिय तालिम हलमा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्दराज ज्योति शर्मा पौडेलले नेपालको सहकारी क्षेत्रमा देखिएको समस्याको समाधान गर्न तर्फ राज्य उदासिन देखिएको बताउनु भयो ।
ऋण खाएर तिर्नुपर्दैन भन्दै भ्रम छर्नेहरुलाई राज्यले नियन्त्रमा लिएर कार्वाही गर्नुपर्ने बताउनु भयो । चप्पल लगाउने संचालकहरु धमाधम जेलमा परेको तर जनताको अर्बौ रकम अपचलन गर्ने र सहकारीको ऋण लगेर प्राडो गाडी चढ्नेहरु खुलेआम हिड्ने गरेको बताउनु भयो ।

कार्यक्रममा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष तथा संस्थाका सल्लाहकार गण्डकी थापा अधिकारीले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान नगरे अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकाले यसको राज्यले उचित समाधान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सल्लाहकार रघुपति शर्मा र सञ्चालन सहसचिव सुवास आचार्यले गर्नुभएको थियो ।
२ दिनसम्म सञ्चालन हुने सस्थाको पाँच वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी नेतृत्व विकास तालिमको नेफ्स्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक ईन्द्रराज ज्योति पौडेल, बिकु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हरिलाल सापकोटाले सहजिकरण गर्नुहुनेछ ।
संस्थाले सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमितिबाट लिएका सुझावको आधारमा संचालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, एक्सेस उपसमिति सम्मिलित योजना तर्जुमा गोष्ठिले अन्तिम रुप दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले बताउनुभयो ।

















































































































































































































