४ जेष्ठ २०८१, शुक्रबार

 

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ। वायु प्रदूषणले आकाश धुम्मिएको छ। नजिकैका डाँडाकाँडा पनि तुँवालोले ढाकिएका छन्। हवाई उडान नियमित नहुँदा पर्यटक आगमन रोकिएको छ।

लम्बिँदो सुक्खा यामका कारण डढेलो अनियन्त्रित रुपमा फैलिएको छ। पर्यटकले घुम्न रुचाउने याम यसै उराठलाग्दो बनेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले गत १० गतेयता घोरेपानी–पुनहिल क्षेत्रमा पर्यटकीय गतिविधि सुस्ताएको बताउनुभयो। ‘पदयात्राको याममा मौसम प्रतिकुल छ, हिमाल खुलेको छैन’, उनले भने, ‘चाररपाँच दिनदेखि पोखराको हवाई सेवा प्रभावित हुँदा विदेशी पर्यटक पनि आउन पाएनन्।’

नयाँ वर्षमा पर्यटकीय चहलपहल बढेकामा त्यसयता विस्तारै पर्यटकको आउजाउ घट्दै गएको पुनले बताए।

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन्। तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट विश्वका १० अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत दर्जनौं हिमाल एकसाथ देख्न सकिने पुनले बताए।

‘असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखको गुराँस फुल्ने याममा यहाँ धेरै पर्यटक आउँछन्’, पुनले भने।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले वातावरणीय प्रदूषणको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको बताए।

‘पर्यटक घुम्न र ठाउँ हेर्न आउने हो अहिले मौसम खुलेको छैन, हवाई उडान पनि प्रभावित बनेको छ, सडक मार्ग पनि उस्तै छ’, उनले भने, ‘एक सातायता पोखरामा पर्यटकको आगमन ह्वात्तै घटेको छ।’

बढ्दो वायु प्रदूषणले जनस्वास्थ्यसँगै अन्य मानवीय गतिविधिमा पनि असर पु¥याइरहको अध्यक्ष अधिकारीले बताए। चैत–वैशाखको याममा पदयात्रा गर्न विदेशी पर्यटक बढी आउने गरेकामा मौसमले चुनौती थपेको उनको भनाइ छ।

प्रतिकूल मौसमकै कारण कतिपय पर्यटकले यात्रा रद्द गरेको पर्यटन व्यवसायी बताउँछन्। गत महिना बेमौसमी झरीले पदयात्रा पर्यटन प्रभावित भएकामा अहिले सुक्खा याम र तुवाँलोले पर्यटन क्षेत्र प्रभावित बनेको हो।

दोस्रो मुख्य पर्यटकीय याममै पर्यटकीय राजधानीको मौसम कयौँ दिनसम्म धुम्म हुँदा पर्यटन व्यवसायी निराश बनेका छन्। उनीहरु मौसम खुल्ने प्रतीक्षामा छन्। गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार गत सोमबारसम्ममा प्रदेशका चार सय ६७ स्थानमा डढेलो लागेको छ।

डढेलोले प्रदेशका नौ जिल्लाको करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ। सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ। वायुमण्डलमा प्रदुषण बढ्नुमा डढेलोलाई प्रमुख कारक मानिएको छ। डढेलोले पर्यावरणीय स्वच्छतामा नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए।

प्रतिक्रिया दिनुहोस्