६ जेष्ठ २०८१, आईतवार

 

आदर्श सञ्चार सहकारीद्वारा काठमाडौंमा श्रद्धाञ्जली सभा

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–३ निवासी संस्थाका शेयर सदस्य तथा सञ्चालक समितिका पूर्व सदस्य वरिष्ठ साहित्यकार काजीरोशनकी धर्मपत्नी सरस्वती राजभण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौं बाफलस्थित राजभण्डारी निवासमा पुगेर मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

स्वर्गीय राजभण्डारीको १३ औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई संस्थाले प्रदान गर्दै आएको राहत रकम समेत हस्तान्तरण गरिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै स्वर्गीय राजभण्डारीका श्रीमान संस्थाका शेयर सदस्य तथा सञ्चालक समितिका पूर्व सदस्य काजीरोशनले आफु सञ्चालक समितिमा रहेको समयमा शेयर सदस्यहरुको परिवारमा दुख पर्दा घरमै पुगेर समवेदना प्रकट गर्ने तथा मृत्यु राहत रकम गर्ने प्रचलन शुरु गरेको जानकारी गराउनु भयो ।

समयचक्रले आफ्नो परिवारमा समेत यति छिटै श्रीमतीको श्रद्धाञ्जली अर्पण गर्नु पर्ने दुखद अवस्था आएको उहाँले बताउनुभयो । आदर्श सञ्चार सहकारी संस्थाले साविकको धौलागिरीमा छुट्टै पहिचानका साथ स्थापना भई आफ्ना सदस्य र समुदायको हितमा निरन्तर काम गर्दै आएको भन्दै उहाँले सहकारीले सञ्चालन गरेका क्रियाकलापका कारण सदस्यहरुको सहयोग र समुदायको माया पाएको बताउनुभयो ।

श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसी र शेयर सदस्य तथा पूर्व सल्लाहकार महेशचन्द्र प्रधानले समवेदना सन्देश तथा मृत्यु राहत स्वरुप रु।५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो । सम्पादक जिसीले काजीरोशनले आदर्श सञ्चार सहकारी संस्थाको संस्थागत विकासमा महत्वपूर्ण योगदान गरेको र त्यसका लागि स्वर्गीय सरस्वती राजभण्डारीले सदैव साथ दिएको बताउनुभयो ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य तथा पूर्व सल्लाहकार महेशचन्द्र प्रधानले गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखिनै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्