५ कार्तिक २०८३, बुधबार

 

बागलुङ नगर नेतृत्वको दुई वर्ष : चुनौती, आलोचना, निरन्तर मेहनत र दिगो विकासको यात्रा

- - बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको दुई वर्षको उपलब्धी

बागलुङ नगरपालिकामा हामीले पदबहाली गरेको आज दुई वर्ष पुरा भएको छ । बागलुङ नगरको विकास, सम्मृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर सो अभिभारा पुरा गर्नको लागि आफ्नो मताधिकार मार्फत विजयी तुल्याउने समग्र नगरवासी, आमा, बुवा, दाजु, भाइ तथा दिदी, बहिनी लगायत सबै प्रकारले सहयोग गर्ने समग्र आदरणीय व्यत्तित्वहरु प्रति यस नयाँ विश्व मार्फत धन्यवाद सहित कृतिज्ञता ज्ञापन गर्दछु ।

नेपालको संविधानले राज्यको पुर्नसंरचना गरेसंगै स्थापित स्थानीय तहको दोस्रो कार्यकालको लागि मिति २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनमा हामीलाई आदरणीय नगरवासी आमा, बुवा, दाजु, भाई तथा दिदी, बहिनीहरुले आफ्नो अमुल्य मतदान गरी निर्वाचित गराउनु भएको आज दुई वर्ष पुरा भएको छ ।

हामीले निर्वाचनका वखत आम नगरवासीका माझ निर्वाचन घोषणा पत्र मार्फत सार्वजनिक गरेका नगरका समृद्घि र आदरणीय नगरवासीका हित एवम् सरोकारका विभिन्न विषयका योजना सहितको प्रतिवद्घता पुरा गर्नको लागि थालेका प्रयासहरुलाई सार्वजनिक गर्न गैरहेका छौ ।

आदरणीय नगरवासीका असीमित चाहना, नगरले खोजेको विकास र समृद्धीको सपना, सीमित बजेट र अव्यवहारिक कानुनी व्यवस्थाको चुनौतीको बावजुत पनि हामी हाम्रा संकल्प र नगरवासीका चाहनालाई यो पाँच वर्षमा पुरा गर्ने गरी समृद्ध बागलुङको जग बसाल्न शुरु गरेका छौ ।

बागलुङ नगरपालिकाको विकास र समृृद्धिका लागि संस्थापक नगर प्रमुख ऋषिराम शर्मालाई प्रेरणाको श्रोतको रुपमा लिई उहाँले शुरु गरेका संस्थागत कुरा र यस पूर्वका जनप्रतिनिधिहरुले थालनी गरी क्रमागत आयोजनालाई प्राथमिकतामा राखी हाम्रा नीति तथा कार्यक्रमहरुलाई त्यस तर्फ लक्षित गरेका छौ । हामीले शुरु गरेका हाम्रा नीति तथा कार्यक्रम र समग्र कार्य प्रणालीमा सुधारका प्रयासको नतिजा हाम्रो कार्यकालमा आउने कुरामा हामी विश्वस्त छौ ।

नीति, कार्यक्रम तथा संस्थागत सुधार तर्फ

हामीले नगरवासी प्रतिको जवाफदेहीतालाई आफ्नो कर्तव्य ठानी पद वहाली गर्दाको अवस्थामा नगरपालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, प्रशासनिक लगायतका सम्पूर्ण विषयको यथार्थ अवस्था सार्वजनिक रुपमा जानकारी गराउने उद्धेश्यले श्वेत पत्र जारी गरेका थियौ ।

श्वेत पत्र नगरपालिकाको संस्थागत सुशासन कायम गर्न, भावी योजना वनाउन, नगर विकास र संवृद्धिका प्रयासमा सरोकारवाला र सहयोगी हातहरु जुटाउन, हाम्रो कार्य सम्पादनको आम मुल्याङ्कन तथा स्वमुल्याङ्कन गर्न समेत आधार वन्ने विश्वास लिई स्वेतपत्रको जगमा नीति तथा कार्यक्रम अगाडि बढाउने संस्कारको सुरुवात गरेका छौ ।स्थानीय सरकारले विरलै मात्र जारी गर्ने गरेको यो स्वेतपत्र आगामी नेतृत्व र अन्य पालिकालाई समेत सिकाई हुने कुरामा विश्वस्त छौ ।

हामी पदवहाल गर्दै गर्दा आर्थिक वर्ष ०७९/०८० को बाँकी योजना तथा कार्यक्रम सम्पन्न गर्नु पर्ने, वडा भेला गरी नयाँ नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने चुनौती हाम्रो माझ थियो उक्त चुनौतीलाई चिर्दै समयमै योजना तर्जुमाका सम्पूर्ण प्रकृया पुरा गर्दै समयमै नगरसभा सम्पन्न गरी एक समारोह वीच असार मसान्त भित्र पुस्तक प्रकाशन गर्ने पहिलो नगरपालिका बन्न सफल भएका छौ । यो सफलताले हामीलाई उत्साह सृजना गरेको छ भने आम उपभोक्तालाई समयमै योजना कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको छ ।

पद वहाली पश्चातको पहिलो कार्यपालिका बैठकबाट बागलुङ नगरलाई बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्धतासँगै चालु आ।व।को नीति, योजना तथा कार्यक्रममा उक्त विषयलाई समावेश गरी १४ वटै वडामा बाल क्लव, बाल भेला तथा नगर स्तरिय बाल क्लव संजाल गठन गर्न सफल भै विभिन्न चरणका अभिमुखिकरण समेत सम्पन्न गरी हाल बालमैत्री नगर घोषणाको लागि आवश्यक पर्ने ५१ वटा सुचक मध्ये धेरै सुचक पुरा गरी सकेका छौ र आगामी २०८१ पौष भित्र बालमैत्री नगरघोषणा गर्ने गरी तयारी गरेका छौ ।

प्राविधिकको सल्लाह विना, विना रेखाङ्कन भू वनोटको ख्याल नगरी आफुखुसी जथाभावी डोजर लगाउने परिपाटीको कारण बर्षादको समयमा बाटो विग्रने, पैह्रो जाने र जनधनको क्षती हुने गरेको कारण सम्भावित क्षतिको न्यूनीकरण गर्नको लागि विना अध्ययन नयाँ ट्रयाक खोल्नको लागि डोजर लगाउने परिपाटीको अन्त्य गरेका छौ ।

न्यायिक समिति

नगरवासीका समस्या, पिडा, मर्का तथा विवादलाई मेलमिलाप मार्फत विवादको समाधान गर्नको लागि ऐन द्धारा दिईएका क्षेत्राधिकार भित्र रही यस ३६५ दिनमा न्यायिक समिति मार्फत धेरै विवाद समाधान गरिएको छ ।

विवाद समाधानको लागि विवादित दुवै पक्षको पायक पर्ने स्थानमा गई दुवै पक्षलाई मेलमिलाप गराई सम्मान गर्ने परिपाटीको विकास गरिएको छ । सामुदायिक मेलमिलापकर्ता मार्फत स्थानीय स्तरको विवाद समाधान गर्नको लागि आधारभुत तालिम प्रदान गरिएकोछ ।

सुशासन तर्फ

स्थानीय सरकार गठन पश्चात सिंहदरवारको अधिकार घरदैलोमा भन्ने नागरिकको बुझाईलाई सम्मान गर्दै नगरपालिकाले पहिलो पटकसम्पूर्ण सेवालाई एकीकृत गरी वडा स्तरमा घुम्ती सेवा शिविर संचालन गरी योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, घर दैलो स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा नविकरण तथा नयाँ दर्ता, व्यक्तिगत घटना दर्ता, माटो परिक्षण, उपभोक्ता अनुशिक्षण र टोल विकास संस्थादर्ता गर्ने कार्य सम्पन्न भएको थियो ।

हरेक वडामा घुम्ती सेवा शिविर अभियान नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने एउटा सशक्त माध्यम हो भन्ने कुरा नागरिकको सन्तुष्ठीबाट प्रमाणित भएको छ ।

बागलुङ नगरपालिकाले शुरु गरेको यो उदारणीय कार्यको चर्चा अन्य पालिका, प्रदेश तथा केन्द्र स्तरको बैठकमा चल्ने गरेको छ । यस अभियानलाई अन्य पालिकाले समेत अनुकरण गर्न थालेका छन । जुन बागलुङको लागि गौरवको विषय बनेको छ ।

स्वेत पत्र जारी गर्दै गर्दाको अवस्थामा योजना कार्यान्वयनको लागि गठन गरिने उपभोक्ता समितिले व्यहोर्ने रकम न्यूनतम २० प्रतिशत रहेकोमा उक्त व्यवस्थालाई परिवर्तन गरी महिलाले नेतृत्व गर्ने उपभोक्ता समितिलाई १० प्रतिशतर अन्यलाई १५ प्रतिशत लागत सहभागिता हुने गरी कार्यविधि परिवर्तन गरेका छौ जसले गर्दा उपभोक्ताहरुमा प्रत्यक्ष राहत पुगेको र हाल महिला नेतृत्व भै गठन भएका उपभोक्ता समितिको संख्यामा उल्लेख्य वृद्धी भै धेरै उपभोक्ता समितिमा महिलाको नेतृत्व पुगेको छ ।

महिला सशक्तिकरण

महिला सशक्तिकरणको पाटोमा यो एउटा ठूलो उपलब्धी मानेका छौ । टोल विकास संस्था गठन संचालन तथा व्यवस्थापन कार्यविधि २०७९ जारी गरी नगरका विभिन्न स्थानमा टोल विकास संस्था गठन, पूर्णगठन र नयाँ दर्ता गर्ने व्यवस्थालाई संस्थागत गरी स्वेतपत्र जारी गर्दाको अवस्थामा विगत एक वर्षदेखि एउटा उपभोक्ता समितिले एउटै मात्र योजना संचालन गर्न सक्ने कानुनी व्यवस्थालाई परिवर्तन गरी टोल विकास संस्था मार्फत योजना कार्यान्वयन गर्न चाहेमा टोल क्षेत्रभित्रका पाँच लाख भन्दा कमका एक भन्दा बढी योजना एकै पटक सम्झौता गर्न सक्ने गरी नगरको कार्यविधि संशोधन गरेका छौ ।

यो व्यवस्थाले योजना कार्यान्वयनमा सहज हुनुको साथै साना योजनामा धेरै उपभोक्ता समिति गठन गर्ने झन्झटबाट नगरवासी मुक्त भएका छन । हामीले शुरु गरेको यो व्यवस्था अन्य पालिकाको लागि सिकाई हुन सक्ने कुरामा विश्वस्त छौ ।

हामी पदवहाल गरिरहदाको अवस्थामा प्रविधिमैत्री कर्मचारीको अभावमा १४ वटा वडा मध्ये ७ वटामा मात्र अनलाईन मार्फत घटना दर्ता हुने गरेकोमा कार्यालयको पञ्जिकरण शाखाबाट वडाको सेवा समेत उपलब्ध गराई सवै वडामा अनलाईन घटना दर्ता शुरु गरी अनलाईन घटना दर्तालाई सतप्रतिशतमा पु¥याएका छौ भने सबै वडा कार्यालयबाट राजस्व संकलन गर्न मिल्ने व्यवस्था भएकोले सेवाग्राहीलाई धेरै सहज भएको छ ।

शैक्षिक गुणस्तर वृद्धि गर्न र सिकाई उपलब्धी बढाउन

बागलुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र सिकाई उपलब्धी बढाउन तह मिलान र अध्यापन स्थगन गर्ने कार्य सुरु गरेको छ ।

नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलानको काम अगाडि बढाएको हुन् । नगरपालिकाले विद्यार्थीको अति न्युन संख्या भएको कक्षा १ सम्म अध्यापन हुने बानपा–९ को सरस्वती सामुदायिक र रानीभूमे प्राविमा पठनपाठन स्थगन गरेको छ ।

बानपा-१३ पैयुपाटाको लक्ष्मी नारायण संस्कृत प्रावि र बानपा-१२ अमलाचौरको कालीगण्डकी प्राविको गत वर्ष पठनपाठन स्थगन गरिएको थियो ।

१३ औं नगरसभाबाट शैक्षिक सुधार र विद्यालय व्यवस्थापन गर्ने विषयमा भएको निर्णय, नगर शिक्षा समितिले गरेको अनुसन्धान, सुझाव र नगरपालिकाले दुई वर्ष लगाएर विद्यालयको स्थलगत अनुगमनपछि प्राप्त प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गर्ने काम योजनावद्ध रुपमा अगाडि बढाएको छ ।

विद्यार्थीले दिवा खाजामा ५ रुपैयाँ  थप

विद्यालय स्थगन भई विद्यार्थीहरु जाने विद्यालयको लागि बढीमा २ लाख र तह मिलान हुने विद्यालयहरुलाई प्रतिकक्षा बढीमा २५ हजारको दरले एक पटकको लागि अनुदान दिइने छ । संघीय सरकारले विद्यार्थीले दिवा खाजा वापत १५ रुपैयाँ पाइरहेको र सो रकम साह्रै नपुग भएकोले प्रति विद्यार्थी ५ रुपैयाँका दरले थप अनुदान नगरले दिनेछ ।

छोरीका नाममा बैकमा पाँच हजार रुपैयाँ जम्मा

जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयमा ल्याएको छ । आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम तथा बजेट मार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याएको हो ।

नगरपालिका भित्र जन्मिएका छोरीका नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिन सुरुवात गरेको छ ।नगरपालिका भित्रका १४ वटा वडामा गत साउनदेखि जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता संचालन गरी सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले जम्मा गरेको रकम २० वर्ष उमेर नपुगेसम्म झिक्न पाईने छैन ।‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ, नगरप्रमुख श्रेष्ठले भने— १३ औ नगर सभाद्धारा पारित नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रमका लागि आवश्यक बजेटको पनि व्यवस्थापन गरेका छौं ।

कार्यक्रम संचालनका निम्ति कार्यविधि पनि तयार गरेर कार्यान्वयमा गएका हौ ।यो कार्यक्रमलाई आउँदा वर्षमा पनि निरन्तरता दिँदै जानेछौं ।’ गत साउनदेखि हालसम्मका ३० जना छोरीहरुका नाममा नगरपालिकाले नगद पाँच हजार रुपैयाँका दरले बैकमा रकम जम्मा गरिदिएको श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ५ मा कोषको स्थापना, दफा ६ मा कोष सञ्चालन सम्वन्धी गरेको व्यवस्था अनुसार गत श्रावण महिनादेखि यता जन्मिएका छोरीहरुको लागि मुद्धती खाता सञ्चालन गरी प्रत्येक छोरीहरुको लागि एक पटक पाँच हजार रुपैया जम्मा गर्ने प्रावधान बनाएको छ ।

सो मुद्धती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्धती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

अझै पनि हाम्रो समाजमा छोरालाई भन्दा छोरीलाई गर्ने व्यवहार फरक भएको हुँदा दुबै समान हुन भन्ने सन्देश दिनका निम्ति नगरपालिकाले यो अभियान संचालन गरेको नगरप्रमुख श्रेष्ठ बताउँछन । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन्।

कोरियाको वातावरण विभागको सहकार्यमा नकुहिने फोहोरको दिगो व्यवस्थापन

सोमबार बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कंपनीसँग प्रारम्भिक सम्झौता एमओई भएको हो । यो सम्झौता अनुसार नकुहिने फोहोरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्राउने लक्ष्य छ ।

कोरियाको वातावरण विभागअन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जंग डेटोङ तथा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले संयुक्त हस्ताक्षर गरेका हुन् । विशेष गरि फोहोर व्यवस्थापनमा उक्त कंपनीले जिरो वेस्ट म्यानेजमेन्टमा प्रविधि उपलब्ध गराउने छ ।

साथै प्राविधिक सीपका लागि पनि तालिम दिने भएको हो । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई विक्री गर्ने, कम्पनीले ३ वर्ष निशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यवहारिक रुपमा ज्ञान दिनेछ ।

नगरपालिकाको प्राविधिक कोरिया पठाएर मेसिन चलाउने तालिम समेत पाउनेछन् । केही समय कोरियाका प्राविधिकले फिल्डमै आएर मेसिन चलाउने तालिम समेत दिनेछन् ।

हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ ।

दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । अहिले भने स्थान फेरेर बानपा १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको छ ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा झन समस्या उत्पन्न भएको छ । अब भने नगरपालिकलो कुहिने र नकुहिने फोहोर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो । उक्त मेसिनमा ढुंगा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ ।

कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो । न्युनतम विद्युतको खपतमै १ हजार १ सय डिग्री तापक्रमबाट फोहोर नष्ट हुन्छ । तर त्यसबाट धुँवा र धुलो समेत नहुने बताइएको छ । साथै कार्बन उत्र्सजन पनि नहुने बताइएको छ ।

दैनिक १ टन प्लाष्टिक जन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टन सम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँ सम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् ।

बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहोर निस्कासन गर्ने भएकोले प्लाष्टिकजन्य वस्तु नै साँढे २ टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो ।

मिसावटयुक्त खाद्य पदार्थ विक्री वितरणमा रोक

बागलुङ नगरपालिकाले दीपावलीको समयमा स्वास्थ्यमा प्रतिकुल असर गर्ने मिसावटयुक्त खाद्य पदार्थ विक्री वितरण गरेमा कडा कारवाही गर्ने भएको छ ।

बजारमा रंग मिसिएका झिनिया रोटीलगायतका खाद्यपदार्थ विक्री वितरण हुने गरेको र पटक पटक बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रिएका सामानको बेचबिखन, सामानमा अखाद्य वस्तुको मिसावट तथा मुल्य सूचि नराखी विक्री वितरण गरेको पाइएपछि कडाई गर्ने तयारी गरेको हो ।

उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ बजारलाई चाडपर्वको बेला उपभोक्ता हितको लागि मूल्य सूची अनिवार्य राख्ने, म्याद गुज्रेका सामानहरुको छुट्टै जोन बनाइ विक्री वितरण नगर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

साथै बैठकले मिसावट भएका सबै खालको रोटी र सबै प्रकार खाद्य पदार्थहरु विक्रीवितरण नगर्न, मूल्य तोकिएका खाद्यन्न, पानीलगायतका पेय पदार्थहरु तोकिएकै मूल्यमा विक्री वितरण गर्न, दर्ता नभएका र मापदण्ड नपुगेका मासु पसलहरुले कानुनी प्रकृया पुरा गराउन, दीपावलीको अवधिमा प्लाष्टिक जन्यफूलमाला, पटका निषेध गर्ने निर्णय गरेको छ ।

अवैध संरचना आफै हटाउन सुरु

बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले बागलुङ बजारका स्थानीयवासीले सडक पेटी र मापदण्डविपरीत बनाइएका अवैध संरचना आफै हटाउन सुरु गरेको बताउनु भएको छ ।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा हाम्रो अनुरोधलाई सहजै रुपमा स्वीकार गरेर नगरलाई सुन्दर, पैदल यात्रु र ट्राफिकमैत्री र व्यवसायीक गन्तव्यको रुपमा विकास गर्न स्थानीयवासीले स्वतस्फुर्त रुपमा सडक पेटी, होडिक बोर्ड र अवैध संरचना हटाउदै गरेकोले डोजर चलाउन आवश्यक नभएको मेयर श्रेष्ठले बताउनु भयो ।

बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक, भित्री सडक खुल्ला र व्यवस्थित बनाउने सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने अभियान सुरु गरेको बताउनु भयो । यसै गरी सार्वजनिक जग्गाहरूमा निर्माण गरिएका संरचनाहरू समेत हटाउने र व्यवस्थित रुपमा पुनर्निर्माण अभियानको थालनि गर्न लागेको मेयर श्रेष्ठले जानकारी दिनु भयो ।

नगरपालिकाभित्रको सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने, सवारी चाप घटाउने, सडक पेटी भत्काउने र ट्राफिक व्यवस्थापन गर्नको लागि अभियान सुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन्।पहिलो चरणमा मालढुंगा, ट्राफिक चोक, आवा रोड हुँदै बालमन्दिरसम्मको सडक सुधार गर्ने योजना रहेको छ ।

यसै गरी सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडक पेटी र घर टहरा भत्काएसँगै सडकका खाल्डा खुल्डी पुर्ने र आवश्यक भएको सडकमा पिच गर्ने नगरपालिकाले तयारी थालेको छ। नगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, व्यवसायीक विज्ञापन बोर्ड हटाउने भएको छ ।

त्यसको लागि आजदेखि घरदैलो अभियान सुरु गरेर सचेतना कार्यक्रम आयोजना गर्ने भनेका छौं त्यसको सुरुवात ट्राफिक चोकदेखि मरेपिपलसम्म गर्ने कार्यक्रम रहेको श्रेष्ठले भन्नु भयो ।बागलुङ बजारको सौन्दर्य कायम गर्ने, सडक फराकिलो बनाउने र सडक दुर्घटना न्यूनिकरण गर्नेलगायतका उद्देश्य राखी मापदण्डविपरीतका संरचना हटाउन थालेको

घरदैलो ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिक समाजका गहना हुन् उहाँहरुलाई सम्मान गर्नु हाम्रो दायित्व हो भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर भइरहेको छ ।

बाग्लुङ नगरपालिका-९ को धुवाखोला सामुदायिक भवनमा र साविकै वडा नम्बर ९ कै सिस्न्या, सामुदायिक भवनमा आइतबार र सोमबार नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी एवं स्थानीय स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीहरुबाट जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि समेत वितरण गरिएको छ ।

उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूको सुगर परीक्षण पिसाबमा एल्बुमेन प्रोटिन र उच्च रक्तचाप जाँच गरिएको थियो।

शिविरमा १ सय १९ जना जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गरिएको थियो । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरेपछि उनीहरु धेरै खुशी देखिन्छन् ।

क्यूआर कोड मार्फत धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी

बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी क्यूआर कोड मार्फत दिन थालेको छ ।

बागलुङ नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह ताल सहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको छ ।

नगरपालिकाको नक्सा सहित उक्त ११ पर्यटकीय गन्तव्यको पूर्ण जानकारी अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको  हो  ।
विश्व बैंकको ऋणबाट चारओटा सडक पिच हुँदै
विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चारओटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ । उक्त बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले यहाँको भौतिक पूर्वाधार विकासका लागि रू ५८ करोड अनुदानस्वरूप दिएको छ ।

‘नगरपालिकाको कार्यपालिकाले यसबाट नगरका चार सडक कालोपत्र गर्ने निर्णय गरेको छ ।

प्राप्त हुने रकममध्ये रू। ३ करोडको लागतमा सबै सडकको डीपीआर बनाइने र रू ५५ करोडबाट पूर्वाधारको काम गरिनेछ । वडानं १ रामरेखास्थित गणेशथान घुम्ती–निरयघाट सडक, वडानं ४ को ओढारचौर–ढोडेनी सडक, वडानं ७ को मूलपानी माध्यमिक विद्यालय–भीमपोखरा सडक र वडानं १४ को बलेवा विमानस्थल–पैयुँपाटा–अमलाचौर भैरवस्थान सडक कालोपत्र गरिने भएको हो ।

सबै सडक डीपीआरको चरणमा रहेको र डीपीआरलगत्तै ठेक्का प्रक्रियामा लैजाने नगरपालिकाको योजना छ ।

साना योजना एक्लैले सम्पन्न गर्दै आएको नगरपालिकाले ठूला योजनाका लागि प्रदेश तथा संघीय सरकाबाट ऋण वा अनुदानका लागि पहल गर्दै आएकामा अहिले सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकबाट आएको ऋणमध्ये नेपाल सरकारले यहाँको पूर्वाधार निर्माणमा रू ५८ करोड अनुदानमा उपलब्ध गराउने सम्झौता गत वर्ष नै भएको थियो ।

नगरको विकासका लागि ठूला योजना ल्याए पनि बजेट अभावले केही योजना अगाडि बढ्न सकेका थिएनन् ।

अनुदान रकम सडक, भवन, खानेपानी, सिँचाइ तथा पर्यटन पूर्वाधारमा मात्रै खर्च गर्न मिल्ने भए पनि पक्की सडकको अभाव भएकाले सडक निर्माणमै बजेट खर्चिने नगरपालिकाले निर्णय गरेको छ ।

पाँच वर्षभित्र सक्ने गरी पूर्वाधार विकासमा ७० प्रतिशत र सुशासनमा ३० प्रतिशतमा खर्च गर्नुपर्ने शर्त रहेको छ। छ वर्ष पहिला उक्त नगरपालिका अनुदानका लागि नेपालका पाँच नगरपालिकामध्येबाट छनोटमा परेको थियो ।

त्यसबेला कुँडुले, पञ्चकोट कालीमाटी हुँदै नगरको रिङरोडको अवधारणा शुरू भइसकेको र पूर्वाधार विकासमा झण्डै रू १२ करोड खर्च भएकामा पछि उक्त योजना भंग भएपछि सडक अधुरै बन्न पुगेको थियो । सुशासनतर्फ खर्च हुने बजेट भने महिला, दलित, उपेक्षित वर्गको हित, योजना तर्जुमा र प्रविधिको पहुँच स्थापनाका लागि खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नगरप्रमुख श्रेष्ठ प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित

नेपाली सेनाको २६१ औं सेना दिवसको अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई प्रधान सेनापति प्रशंसा निशान प्राप्त गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा प्रधान सेनापति शर्माले नगरप्रमुख श्रेष्ठलाई प्रशंसा निशानबाट सम्मानित गर्नु भएका थिए ।

नगरप्रमुख श्रेष्ठलाई नेपाली सेनाको तालिमको दौरान सञ्चालन गरिने विभिन्न अभ्यासको लागि जग्गा उपलब्ध गराउन निर्वाह गर्नु भएको नेतृत्वदायी एवंम समन्वयकारी भूमिकाको मूल्याङकन गर्दै प्रशंसा निशान प्रदान गरेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung