४ असार २०८१, सोमबार

 

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङद्वारा बागलुङ नगरपालिकाको ध्यानाकर्षण

बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङले विभिन्न ९ वुँदे माग राख्दै बागलुङ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखालाई ज्ञापन पत्र बुझाएको छ ।

बागलुङ नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि नगर कार्यपालिका नीति तथा कार्यक्रम सहित अघि बढेको भएपनि शिक्षा सम्बन्धी सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा उपेक्षा गरेकोप्रति हाम्रो ध्यानाकर्षण गराएको हो ।

गुणस्तरीय शिक्षा र पेशागत मर्यादाका लागि संगठन स्थापनाकालदेखि नै क्रियाशील रहेको भन्दै नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेललाई ९ वुँदे माग राख्दै ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्रमा शिक्षण संस्थामा कार्यरत शिक्षकहरूलाई मासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था गरिनु पर्ने, बागलुङ नगरपालिकामा नेपाल शिक्षक महासंघ गठन नभएको अवस्थामा शिक्षा सम्बन्धी कार्यक्रममा शिक्षकका पेशागत संघसंगठनलाई सहभागी बनाइनु गर्ने, शिक्षासँग सरोकार राख्ने सबैपक्ष र शिक्षकका पेशागत संघ संगठनहरूलाई सूचना दिनुपर्नेमा, निजामति कर्मचारी सरह सेवा सुविधा दिई प्रधानाध्यापकको खुला प्रक्रियाबाट नियुक्ति तथा व्यवस्थापन गर्दा निश्चित मापदण्ड कार्यविधि निर्माण गरिनुपर्ने, बाल विकास केन्द्रका शिक्षकहरूलाई तथा विद्यालयमा कार्यरत कर्मचारीहरूलाई नगरपालिकाबाट थप गरिने पारिश्रमिकमा वृद्धि गरिनु माग गरेको छ ।

साथै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संविधानमा नै व्यवस्था भएकाले विद्यालयबाट उठाइने भर्ना तथा मासिक शुल्कमा तत्काल नगरपालिका शिक्षा शाखाबाट रोक लगाउनु पर्ने, नगरपालिका भित्र विद्यालय मर्ज साइज डाउनगरी समायोजन तथा तह मिलानको क्रममा भएको गतिविधि र शिक्षक दरबन्दी मिलानमा सरोकारवाला पक्षहरूसँग बसेर समीक्षा गर्न, संस्थागत विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सरह सेवा सुविधा दिने नियम बनाएर अनुगमन गरी सो नभएमा कडा कारबाही गर्न समेत माग गरेको छ ।

संगठनले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई स्रोत साधन तथा आइसीटी युक्त तालिमको व्यवस्था गर्न माग गरेको छ । ध्यानाकर्षण पत्र शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य शान्तमणी ढकाल, बागलुङ नगरपालिका अध्यक्ष सुरेन्द्र चापागाई, सचिव शालिकराम शर्मा लगाएतको टोलीले नगर शिक्षा अधिकारीलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्