३ श्रावण २०८३, आईतवार

 

बागलुङमा छिनछिनमै विद्युत कटौती : उपभोक्ता भन्छन् – कहिले समस्या समाधान हुन्छ ?

बागलुङ । बागलुङमा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् ।

जिल्लामा सञ्चालनमा रहेका पोलिक्निक, ल्याब, फर्निचर, ग्रिल उद्योग, घरेलु उद्योग, वेकरी, होटल, रेष्टुरेन्ट, खाजा पसल, अपसेट प्रेस, सरकारी तथा गैरसरकारी सस्था, बैंक तथा वित्तीय सस्था र विद्यालयका खाजा पसललगायतलाई समस्या भएको हो ।

विद्युत् सेवा अनियमित हुँदा रातको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या भएको छ। बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामाग्री बिग्रिने गरेका छन् ।

विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । विद्युत् कटौतीले विरामीले अनलाइनबाट पाउने सेवा प्रभावित भएको छ ।

विरामीको सबै विवरण अनलाइनमा भएको र विद्युत् कटौतीले लामो समय कुर्नु पर्ने वाध्यता आइलागेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताउनु भयो ।
बागलुङमा पर्वतको मोदी र म्याग्दीको दाना सवस्टेनशनबाट विद्युत आपुर्ती हुने गरेको छ ।

म्याग्दीबाट आउने विद्युतमा भन्दा पर्वतको मोदीबाट आपुर्ती हुने विद्युत भरपर्दो र दुरीको हिसावले पनि छोटो हुने गरेकोले मोदीको विद्युत बागलुङमा प्रयोग गर्ने गरेकोमा मोदीमा समस्या आउदा यहाँ पनि समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले बताउनु भयो।

बागलुङ र पर्वतको फलेवास क्षेत्रमा आउने लाईन एउटै भएको कारण पर्वतमा आउने समस्याले बागलुङ पनि प्रभावित हुने गरेको केन्द्र प्रमुख पौडेलको भनाई छ ।

जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा दैनिक कामकाजमा समस्या भएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले नयाँ विश्वलाई बताउनु भयो ।

विद्युत सेवा अवरुद्ध भएर समस्या भएपछि फ्रिजमा राखेर बच्नु पर्ने दैनिक उपभोग्य सामान नष्ट भएर लाखौंको क्षति भएको यस विषयमा पटक पटक आवाज उठाए पनि सुनवाई नभएकोले यस विषयमा सरोकारवालाहरु जिम्मेवार हुनु पर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।

अहिले सामान्य झरी पर्दा र हावा चल्दा विद्युत अनियमित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung