बागलुङ । अटोमोबाइल व्यवसायीको समस्याको पहिचान गरी उनीहरुको समस्या समाधान गर्न छिटो पहल गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताउनु भयो ।
अटोमोबाइल व्यवसायीको सुरक्षा र उनीहरुको माग समयमै समाधान गर्ने धौलागिरी अटोमोबाइल व्यवसायी संघले बिहीबार गरेको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नु भएको हो ।
स्वागत कार्यक्रममा धौलागिरी अटोमोबाइल व्यवसायी संघले गरेका कार्यहरु, सुरक्षाका चुनौती, अटोमोबाइल व्यवसाय उकास्न सरोकारवालाहरुको साथ र यातायात कार्यालयमा अटोमोबाइल व्यवसायीले भोग्नु परेको हैरानी, काममा ढिलाइ तथा अनावश्यक जरिवाना तिराउने गरेको बारेमा संघका अध्यक्ष शिव शंकर साहले जानकारी गराउनु भएको थियो ।
५ बजेसम्म खुल्ने कार्यालयमा राजश्व तिर्ने समय २ बजे नै बन्द हुँदा टाढा टाढाबाट आउने सेवाग्राही मर्कामा परेको साहको भनाई थियो ।
संघका महासचिव राजु शर्माले धौलागिरी अटोमोबाइल व्यवसायी संघको वर्तमान अवस्था र यसमा आवद्ध व्यवसायी र श्रमिकहरुको बारेमा जानकारी दिनु भएको थियो।
स्वागत कार्यक्रममा संघका कोषाध्यक्ष भुपेन्द्र शर्मा, सचिव नविन कार्की, सदस्य लोकेन्द्र विक, लोकबहादुर खड्का र धौलागिरी अटोमोबाइल व्यवसायी संघका प्रेस सल्लाहकार मुकेशचन्द्र राजभण्डारीको उपस्थिति रहेको थियो ।
विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाइल व्यवसायी संघमा ६७ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट ४ सय ५० जना श्रमिकले रोजगारी पाएका छन् ।













































































































































































































